
पोखरा । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीको लगत संकलन तथा प्रमाणीकरणको काम अन्तिम चरणमा पुगेको जनाएको छ।
महानगरले उनीहरूको उचित व्यवस्थापनपछि बसपार्क क्षेत्र खाली गराउने तयारी गरेको छ।
नगर प्रमुख धनराज आचार्यका अनुसार सुकुम्बासी व्यवस्थापनका लागि आवश्यक तयारी लगभग पूरा भइसकेको छ।
पहिलो चरणमा भूमिहीन सुकुम्बासी र भूमिहीन दलित परिवारलाई प्राथमिकताका साथ व्यवस्थापन गरिने उनले जानकारी दिए।
नगर प्रमुख आचार्यले सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न महानगर प्रतिबद्ध रहेको उल्लेख गर्दै यसलाई राजनीतिक दाउपेचको विषय नबनाउन सबै पक्षसँग आग्रह गरे ।
उनले यो साझा सामाजिक समस्या भएकाले समाधानका लागि सबैको सहयोग, समन्वय र सहजीकरण आवश्यक रहेको बताए।
महानगरले कानुनी प्रक्रिया र तथ्यगत विवरणका आधारमा वास्तविक भूमिहीनको पहिचान गरी व्यवस्थित पुनर्स्थापनाको योजना अघि बढाएको जनाएको छ।
पुनर्स्थापनापछि बसपार्क क्षेत्रलाई योजनाअनुसार विकास तथा व्यवस्थापन गरिने महानगरको तयारी छ।
