महिला नेतृत्व र उद्यमशीलता सशक्तीकरणमा लेउवा संघको पहल, तीन दिने तालिम सम्पन्न

Share:

पोखरा । महिला जनप्रतिनिधि तथा उद्यमीहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य संघमा सञ्चालन गरिएको तीन दिने नेतृत्व सीप विकास तालिम बिहीबार सम्पन्न भएको छ।

असार १६ गतेदेखि सञ्चालन भएको तालिम स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल–ललितपुरको आयोजना, पोखरा महानगरपालिकाअन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र र लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न भएको हो। तालिममा पोखरा महानगरपालिकाका विभिन्न वडाका महिला जनप्रतिनिधि तथा स्थानीय महिला उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समापन समारोहलाई सम्बोधन गर्दै स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक जयकृष्ण श्रेष्ठले नेतृत्व र उद्यमशीलता एकअर्काका परिपूरक विषय भएको उल्लेख गर्दै उद्यमी बन्न सक्नु नै ठूलो उपलब्धि भएको बताए।

उनले प्रशिक्षणबाट प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई प्रेरित गर्दै “लर्निङ बाई डुइङ” को अवधारणाअनुसार सिकेका कुरा तत्काल प्रयोगमा ल्याउँदै अनुभवबाट थप सिक्दै जानुपर्नेमा जोड दिए।

महानगरपालिका र संघले उपलब्ध गराएको समय तथा स्रोतको वास्तविक मूल्याङ्कन सहभागीहरूको व्यवहारगत परिवर्तनबाट हुने उनको भनाइ थियो।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले सकारात्मक सोच, आत्मविश्वास र निरन्तर प्रयासले सफल नेतृत्व निर्माण हुने बताइन्। समस्या वा चुनौती आएमा संघमार्फत समाधान खोज्न सकिने उल्लेख गर्दै उनले संघले नीतिगत पैरवीमार्फत विभिन्न क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको अनुभव पनि साझा गरिन्।

सहभागीका तर्फबाट मन्तव्य व्यक्त गर्दै वडा सदस्य उमा परियारले तालिम अत्यन्त उपयोगी, व्यवहारिक र फलदायी भएको प्रतिक्रिया दिइन्। तालिमले नेतृत्व विकाससँगै उद्यमशीलताको यात्रामा थप आत्मविश्वास प्रदान गरेको उनको भनाइ थियो।

तालिममा सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठ, सरिता तिमिल्सीना पँगेनी, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली, प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य तथा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका हेमाराज थापालगायतले सहजीकरण गरेका थिए।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष गोपीचन्द्र बाँस्तोलाले धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन संघकी उप–महासचिव गंगा मल्लले गरेकी थिइन्।

कमेन्ट गर्नुहोस्
Share: