
पोखरा । रोमाञ्चक प्रतिस्पर्धाबीच सम्पन्न बादल मेमोरियल फुटबल प्रतियोगिताको उपाधि रामघाट एफसी सेतोले जितेको छ। पोखरा महानगरपालिका-३०, पावरहाउस मुसेटुँडास्थित खेलमैदानमा सम्पन्न फाइनलमा रामघाट एफसी रातोलाई ६-५ गोलअन्तरले पराजित गर्दै रामघाट एफसी सेतो च्याम्पियन बनेको हो।
उपाधिसँगै विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको रामघाट एफसी रातोले ६६ हजार ६ सय ६६ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
नेपाली कांग्रेसका नेता तथा समाजसेवी स्वर्गीय रामजी पौडेल ‘बादल’ को स्मृतिमा रामजी बादल मेमोरियल ट्रष्टको आयोजनामा असार १३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा २१ टोलीको सहभागिता रहेको खेल संयोजक अपिल पौडेल क्षत्रीले जानकारी दिए।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशसभाका सांसद तथा नेपाली कांग्रेस संसदीय दलका सचेतक प्रकाश बरालले रेफ्रीलाई बल हस्तान्तरण गर्दै गरेका थिए।
समापन समारोहमा गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य-सचिव श्रीधर शर्मा, पोखरा महानगरपालिका-३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ, ट्रष्टकी अध्यक्ष तथा स्वर्गीय रामजी पौडेल ‘बादल’की धर्मपत्नी चन्द्रावती पौडेल, ट्रष्टका सचिव विश्वमोहन पौडेललगायतले विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा गगनगौंडा युवा क्लब अनुशासित टोली घोषित भयो। यस्तै, रामघाट एफसी सेतोका अंकित गुरुङ सर्वोत्कृष्ट खेलाडी, सुजन गुरुङ सर्वाधिक गोलकर्ता तथा पदम लोप्चन उत्कृष्ट गोलरक्षक घोषित हुँदै जनही ५ हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भए।
स्थानीय खेल प्रतिभाको विकास, युवामा खेल संस्कृतिको प्रवर्द्धन तथा स्वर्गीय रामजी पौडेल ‘बादल’को योगदानलाई स्मरण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
