रिपोर्टिङ तालिमदेखि वृक्षारोपणसम्म : सामाजिक उत्तरदायित्वमा सक्रिय लायन्स क्लब अफ पोखरा माउण्टेनसिटी

Share:

पोखरा । लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीले नेतृत्व विकास, संस्थागत क्षमता अभिवृद्धि र वातावरण संरक्षणलाई केन्द्रमा राख्दै दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ। क्लबले रिपोर्टिङ तालिम तथा माइन्युट हस्तान्तरण कार्यक्रमसँगै संयुक्त वृक्षारोपण एवं गोडमेल अभियान सञ्चालन गरेर सामाजिक उत्तरदायित्वप्रति आफ्नो सक्रियता प्रस्तुत गरेको हो।

क्लबको आयोजनामा पोखरा-१७, विरौटास्थित पुइमे रेष्टुरेन्टमा सम्पन्न रिपोर्टिङ तालिम तथा माइन्युट हस्तान्तरण कार्यक्रममा डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी विकाश भुर्तेलले प्रमुख अतिथि तथा प्रशिक्षकका रूपमा सहभागिता जनाउँदै क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरूलाई प्रभावकारी रिपोर्टिङ, अभिलेख व्यवस्थापन तथा समयमै प्रतिवेदन पेश गर्ने विषयमा प्रशिक्षण दिएका थिए।

उनले डिस्ट्रिक्ट गभर्नरका निर्देशनलाई कार्यान्वयन गर्दै सामाजिक गतिविधिहरूको व्यवस्थित दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए। सोही कार्यक्रममा वर्ष २०२५/२६ का अध्यक्ष विष्णुप्रसाद अधिकारीले वर्ष २०२६/२७ का अध्यक्ष पदम श्रेष्ठलाई माइन्युट हस्तान्तरण गर्दै औपचारिक रूपमा नेतृत्व सुम्पिएका थिए। नवनियुक्त अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालका प्राथमिकता र सामाजिक कार्ययोजनासमेत सार्वजनिक गरेका थिए।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष तथा एक्सटेन्सन मेम्बरसिप चेयरपर्सन पीएमजेएफ डोलराज पोखरेलले लायन्स अभियानको इतिहास र विश्वव्यापी सामाजिक योगदानबारे प्रकाश पारेका थिए।

वरिष्ठ एओजी शक्ति बरालले स्वागत मन्तव्य राखेको कार्यक्रममा रिजन चेयरपर्सन नरेश सुवेदी, जीएसटी डिस्ट्रिक्ट को-अर्डिनेटर भुविन्द्र गिरी, द्वितीय उपाध्यक्ष कल्याण तिमिल्सिना, सचिव शिवप्रसाद रिमाल, कोषाध्यक्ष कुलप्रसाद अधिकारी तथा पत्रकार शिरोमणि बराललगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि भुर्तेललाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।

यसैबीच, लायन्स क्लब अफ पोखरा माउण्टेनसिटी र लायन्स क्लब अफ पन्चासे चौतारीको संयुक्त आयोजनामा पोखरा महानगरपालिका-२९, लेखनाथस्थित नर्मदेश्वर आश्रम परिसरमा वृक्षारोपण तथा गोडमेल कार्यक्रम पनि सम्पन्न भएको छ। वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा एभोकाडो, लिची, आँप र ज्याकारण्डाका बिरुवाहरू रोपिनुका साथै अघिल्ला वर्षमा रोपिएका बिरुवाहरूको गोडमेल गरिएको थियो।

क्लबका अध्यक्ष पदम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिजन चेयरपर्सन नरेन्द्रकुमार कार्की तथा डिस्ट्रिक्ट रिजन चेयरपर्सन नरेश सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा लायन्स क्लब अफ पन्चासे चौतारीकी मञ्जु गौतमले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन शिवप्रसाद रिमालले गरेका थिए।

कार्यक्रममा निवर्तमान अध्यक्ष विष्णुप्रसाद अधिकारी, कास्की कतार समाजका उपाध्यक्ष सन्तोष तिमिल्सिनालगायत वक्ताहरूले वातावरण संरक्षणमा क्लबहरूको सहकार्य प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा रचनात्मक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। दुवै कार्यक्रमले लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीले संस्थागत सुदृढीकरणसँगै वातावरण संरक्षण र सामुदायिक सेवामा निरन्तर सक्रिय भूमिका निर्वाह गरिरहेको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: