
पोखरा । ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार-२०८३’ बाट पत्रकार मीना थापा मगर सम्मानित हुने भएकी छन्।
नेपाल मगर पत्रकार संघ (फोनिज) कास्कीमार्फत प्रदान गरिँदै आएको उक्त पुरस्कार यस वर्ष पत्रकारिता क्षेत्रमा कौराहा तथा मगर समुदायको भाषा, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै थापालाई प्रदान गर्ने निर्णय गरिएको हो।
फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीसमगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले पत्रकार थापालाई यस वर्षको पुरस्कारका लागि चयन गरेको हो।
समितिमा राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिकी अध्यक्ष नरमाया आलेमगर, मगर पत्रकार संघ कास्कीका अध्यक्ष सुरज थापामगर र सचिव बलबहादुर रोकामगर सदस्य रहेका थिए।
राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित यो पुरस्कार प्रत्येक वर्ष नेपाल मगर पत्रकार संघ कास्कीले प्रदान गर्दै आएको छ।
पत्रकार थापाले लामो समयदेखि पोखराबाट पत्रकारिता गर्दै कौराहासहित मगर समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानका विषयलाई निरन्तर समाचार र लेखमार्फत उजागर गर्दै आएकी छन्।
पुरस्कारअन्तर्गत उनलाई नगद १५ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिनेछ।
सम्मान कार्यक्रम असार २६ गते शुक्रबार पोखराको अमरसिंहचोकस्थित पोखरा सेकुवा घरमा आयोजना हुनेछ। कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचन प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
यसअघि यो पुरस्कारबाट कमला रानामगर, तिलक पुनमगर, प्रताप रानामगर, खेम सारुमगर, एमबी आस्थामगर, मनोज घर्तीमगर, रुद्र श्रीसमगर र शारदा झेडीमगर सम्मानित भइसकेका छन्।
