
काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ। बुधबार बिहान स्विट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई पराजित गर्दै अन्तिम १६ को अन्तिम खेल जितेपछि अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको हो।
यसपटकको विश्वकपको क्वार्टरफाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इंग्ल्यान्ड, अर्जेन्टिना र स्विट्जरल्यान्डले स्थान सुरक्षित गरेका छन्। यी आठ टोलीबीच अब सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।
क्वार्टरफाइनलको पहिलो खेलमा फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल जुलाई १० मा नेपाली समयअनुसार राति पौने २ बजे सुरु हुनेछ। दोस्रो क्वार्टरफाइनलमा स्पेन र बेल्जियमबीच जुलाई ११ मा राति पौने १ बजे प्रतिस्पर्धा हुनेछ।
यस्तै, तेस्रो क्वार्टरफाइनलमा नर्वे र इंग्ल्यान्ड जुलाई १२ मा नेपाली समयअनुसार बिहान पौने ३ बजे आमनेसामने हुनेछन्। चौथो तथा अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीच जुलाई १२ मा बिहान पौने ७ बजे खेल हुनेछ। चारै खेलका विजेताले विश्वकपको सेमिफाइनलमा स्थान बनाउनेछन्।
