मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त, सुमनराज अर्याल आजदेखि अवकाशमा

172
0
Share:

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको नयाँ मुख्यसचिव नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुलुकको सर्वोच्च प्रशासनिक पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै कार्कीलाई मुख्यसचिव नियुक्त गरिएको जानकारी दिए।

हालका मुख्यसचिव सुमनराज अर्याल उमेरहदका कारण असार २६ गते अनिवार्य अवकाशमा जान लागेकाले सरकारले समयमै नयाँ नेतृत्व चयन गरेको हो। अर्यालले करिब सात महिनासम्म मुख्यसचिवको जिम्मेवारी सम्हालेका थिए।

नवनियुक्त कार्की हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शासकीय मामिला हेर्ने सचिवका रूपमा कार्यरत थिए। उनी २०८१ भदौमा सहसचिवबाट सचिवमा बढुवा भएका थिए।

भोजपुरमा जन्मिएका कार्कीले यसअघि बागमती प्रदेश सरकारको कायममुकायम प्रमुख सचिव, ल्हासास्थित नेपाली महावाणिज्यदूत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा समेत महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

मुख्यसचिव नियुक्तिका लागि किरणराज शर्मा, राजकुमार श्रेष्ठ, डिल्लीराम शर्मा, हरिप्रसाद मैनाली र गोपाल सिग्देल सहितका वरिष्ठ सचिवहरू पनि बलिया दाबेदार मानिएका थिए। तर अन्ततः सरकारले कार्कीमाथि विश्वास गर्दै मुलुकको शीर्ष प्रशासनिक नेतृत्वको जिम्मेवारी सुम्पिएको हो।

कमेन्ट गर्नुहोस्
Share: