‘देश परिवेश’ लोकार्पण : गाउँ-समाजको मौलिक जीवनचित्र बोकेको कृति सार्वजनिक

Share:

पोखरा । कवि सावित्री आचार्यको दोस्रो गीति कविता सङ्ग्रह ‘देश परिवेश’ शनिबार पोखरामा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ।

अलिमियाँ वाङ्मय प्रतिष्ठान र दीपशिखा साहित्य सङ्गमको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार, कवि, प्राज्ञ तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थितिका बीच ५९ गीति कविता समेटिएको कृति सार्वजनिक गरिएको हो।

कार्यक्रममा दीपशिखा साहित्य सङ्गमका संस्थापक अध्यक्ष रामजीप्रसाद आचार्यले स्रष्टा परिचय प्रस्तुत गर्दै कवि सावित्री आचार्यको संघर्षपूर्ण जीवनयात्रा, साहित्यप्रतिको समर्पण र निरन्तर सिर्जनशीलताको चर्चा गरे।

कठिन परिस्थितिका बाबजुद पनि साहित्य साधनालाई निरन्तरता दिँदै नेपाली साहित्यमा उनले पुर्‍याएको योगदान प्रशंसनीय रहेको उनको भनाइ थियो।

कृतिमाथि समीक्षा गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ टंकादेवी पौडेल आचार्यले ‘देश परिवेश’ गाउँघर, समाज, संस्कृति र मानवीय संवेदनाको जीवन्त अभिव्यक्ति भएको बताइन्।

सरल र सहज भाषाशैलीमा लेखिएका ५९ वटै गीति कविताले पाठकलाई आफ्नै परिवेशसँग जोड्दै गहिरो संवेदनाको अनुभूति गराउने क्षमता राख्ने उनको टिप्पणी थियो। उनले कृतिका सकारात्मक पक्षसँगै आगामी सिर्जनात्मक यात्राका लागि रचनात्मक सुझावसमेत प्रस्तुत गरिन्।

बिम्ब कवि तथा प्राज्ञ रमेश श्रेष्ठले सावित्री आचार्यका कवितालाई कृत्रिमताको होइन, नेपाली माटोको मौलिक सुगन्ध बोकेका सिर्जनाका रूपमा चित्रण गरे। उनका अनुसार यी कविताले गाउँघरको जीवन, संस्कृति, प्रकृति र नेपाली समाजको यथार्थलाई स्वाभाविक ढङ्गले प्रस्तुत गरेका छन्।

उनले यो उमेरमा पनि कविको निरन्तर सिर्जनशीलता सम्पूर्ण आमा तथा दिदीबहिनीहरूका लागि प्रेरणादायी उदाहरण भएको उल्लेख गर्दै ओझेलमा परेका यस्ता वास्तविक स्रष्टालाई समाजले सम्मान र संरक्षण गर्नुपर्ने धारणा राखे।

पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकालले ‘देश परिवेश’ नेपाली गाउँ-समाजको मौलिक जीवनशैली, संस्कृति र परिवेशलाई जीवन्त रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण कृति भएको बताए। पुस्तकले पाठकलाई आफ्नै माटो र पहिचानसँग जोड्ने भएकाले सबैले अध्ययन गर्नुपर्ने उनको भनाइ थियो।

कृतिकार सावित्री आचार्यले कार्यक्रममा व्यक्त गरिएको माया, सम्मान र हौसलाप्रति आभार व्यक्त गर्दै यस्ता प्रेरणाले आगामी दिनमा अझ सशक्त सिर्जना गर्न ऊर्जा मिलेको बताइन्। साहित्य साधनालाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

दीपशिखा साहित्य सङ्गमका सल्लाहकार विपिन आचार्यले सङ्ग्रहमा गाउँघरका मौलिक विषय, स्थानीय संस्कृति, परम्परा र नेपाली समाजका जीवनपक्ष प्रभावकारी रूपमा समेटिएको उल्लेख गर्दै कृतिको सफलताको शुभकामना दिए।

अलिमियाँ वाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ तथा दीपशिखा साहित्य सङ्गमका अध्यक्ष गौरव ढुंगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरूले ‘देश परिवेश’ नेपाली साहित्यका लागि महत्वपूर्ण उपलब्धि भएको धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा सङ्ग्रहभित्र समावेश केही गीति कविताको वाचन पनि गरिएको थियो। प्राज्ञ सरस्वती श्रेष्ठ ‘सरु’, प्राज्ञ गायत्री पराजुली, गीता तिवारी, सृजन आचार्य तथा मुक्तक मञ्चका अध्यक्ष अम्बिका भण्डारीले कविता वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन दीपशिखा साहित्य सङ्गमकी महासचिव मनिषा लामिछानेले गरेकी थिइन्।

सहभागी साहित्यकार तथा साहित्यप्रेमीहरूले ‘देश परिवेश’ ले नेपाली गाउँ–समाजको मौलिक जीवन, संस्कृति र संवेदनालाई उजागर गर्दै नेपाली साहित्यमा सकारात्मक र दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: