पोखरामा अटिजम प्रभावित बालबालिकाका लागि स्रोत कक्षा सञ्चालन, समावेशी शिक्षामा नयाँ पहल

Share:

पोखरा । समावेशी शिक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित पोखरा महानगरपालिकाले वडा नं. १७ महतगौँडास्थित जानकी माध्यमिक विद्यालयमा अटिजम प्रभावित बालबालिकाका लागि स्रोत कक्षा सञ्चालनमा ल्याएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले संयुक्त रूपमा स्रोत कक्षाको शुभारम्भ गरेका हुन्। हाल उक्त कक्षामा ४० जना विद्यार्थी अध्ययनरत छन्। महानगरले आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गर्दै स्रोत कक्षालाई थप विस्तार गर्ने जनाएको छ।

शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख आचार्यले शिक्षा प्रत्येक बालबालिकाको मौलिक अधिकार भएकाले कुनै पनि बालबालिका शैक्षिक अवसरबाट वञ्चित हुन नहुने बताए। फरक क्षमता भएका बालबालिकाले पनि गुणस्तरीय र पहुँचयुक्त शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले महानगरले आवश्यक पूर्वाधार, स्रोत र सेवा विस्तार गर्दै जाने उनको भनाइ थियो।

उपप्रमुख गुरुङले समावेशी शिक्षा महानगरपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै अटिजम प्रभावितसहित सबै प्रकारका अपाङ्गता भएका विद्यार्थीका लागि आवश्यक सहयोग, स्रोत र अवसर सुनिश्चित गर्न महानगर प्रतिबद्ध रहेको बताइन्।

महानगरले यसअघि श्रवण अपाङ्गता भएका विद्यार्थीका लागि सृजना बहिरा माध्यमिक विद्यालय तथा दृष्टिविहीन विद्यार्थीका लागि अमरसिंह माध्यमिक विद्यालयमा पनि स्रोत कक्षा सञ्चालन गर्दै आएको छ। यसले विशेष आवश्यकता भएका बालबालिकालाई उनीहरूको आवश्यकताअनुसारको सिकाइ वातावरण उपलब्ध गराउने प्रयास भइरहेको जनाएको छ।

अटिजम मस्तिष्कको विकाससँग सम्बन्धित न्युरो–विकासात्मक अवस्था हो। यसले सामाजिक व्यवहार, सञ्चार क्षमता, सिकाइ शैली तथा व्यवहारमा फरकपन ल्याउन सक्छ। अटिजम सङ्क्रामक रोग नभएको र पालनपोषणको कमजोरीका कारण नहुने विज्ञहरू बताउँछन्।

अटिजम भएका बालबालिकामा आँखा जुधाएर कुरा गर्न कठिनाइ, भाषा विकासमा ढिलाइ, एउटै व्यवहार दोहोर्‍याइरहने, दैनिक तालिकामा परिवर्तन हुँदा असहज महसुस गर्ने तथा आवाज, प्रकाश वा स्पर्शप्रति बढी संवेदनशील हुने जस्ता लक्षण देखिन सक्छन्। यद्यपि यी लक्षण प्रत्येक बालबालिकामा फरक-फरक हुन सक्छन्।

विशेषज्ञहरूका अनुसार समयमै पहिचान, प्रारम्भिक हस्तक्षेप, विशेष शिक्षण पद्धति, नियमित थेरापी तथा परिवार र विद्यालयको सहकार्यबाट अटिजम प्रभावित बालबालिकाको सिकाइ, आत्मनिर्भरता र सामाजिक सहभागितामा उल्लेखनीय सुधार ल्याउन सकिन्छ।

कमेन्ट गर्नुहोस्
Share: