
पोखारा । जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको पर्स चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार असार ३२ गते दिउँसो करिब ३ बजे रूपा गाउँपालिका-५ देउरालीबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १३७२ नम्बरको बसमा सवार स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ राङ्खोला निवासी २९ वर्षीया अनिता श्रेष्ठको रातो रंगको लेडिज पर्स चोरी भएको सूचनापछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा रौतहटको चन्द्रपुर नगरपालिका-१५ निवासी ४२ वर्षीय गुरु प्रसाद बजगाई, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका-८ स्थायी घर भई हाल पोखरा महानगरपालिका-९ शान्तिवन बस्ने ३४ वर्षीय रविन खड्का तथा झापाको कनकाई नगरपालिका-८ स्थायी घर भई हाल पोखरा महानगरपालिका-६ खहरे बस्ने ४५ वर्षीय टेकबहादुर भुजेल (सूर्य) लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले चोरी भएको पर्सभित्र रहेको सुनजस्तो देखिने पहेँलो रंगको हार एक थान (प्रतिवादीहरूले टुक्राटुक्रा गरी बाँडेको अवस्थामा) तथा चाँदीका बेरुवा औँठी दुई थान बरामद गरेको जनाएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट छ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
