
पोखरा । काठमाडौँ र पोखराका विभिन्न स्थानमा शृङ्खलाबद्ध रूपमा चोरीका घटनामा संलग्न चार जना विदेशी नागरिकसहित नौ जनाको गिरोहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा चोरीका घटना बढेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको विशेष टोलीले सूक्ष्म अनुसन्धान गरी उनीहरूलाई चोरीका सामानसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका गिरोहमाथि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त गिरोहले पोखराका विभिन्न वडामा रातको समयमा घर तथा कोठामा प्रवेश गरी धनमाल सफाय गर्दै आएको थियो । गिरोहले गत असार १४ गते पोखरा-१८ मणिमार्गस्थित हेमराज गिरीको घरबाट २५ तोला सुनका गरगहना र नगद ७० हजार रुपैयाँ चोरी गरेको थियो ।
त्यस्तै, असार ४ गते पोखरा-१७ छोरेपाटनका शिव प्रसाद बरालको घरबाट आधा तोला सुन, १ लाख ५० हजार नगद, एक थान ल्यापटप र मोबाइल चोरी गरेको खुलेको छ ।
यसैगरी, असार १५ गते पोखरा-१८ भकुण्डेका गिरीधरी श्रेष्ठको घरबाट दुई थान मोबाइल र करिब डेढ तोला सुनका गहना तथा असार २३ गते पोखरा-८ ज्ञानकुन्ज मार्गस्थित मोहसेन खातामीको कोठाबाट नगद २५ हजार र मोबाइल चोरी कार्यमा समेत सोही गिरोह संलग्न रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।
