
पोखरा । पोखरा विश्वविद्यालयको स्थापना दिवसको अवसरमा श्रमिक शान्ति क्याम्पसले ‘साइबर सुरक्षामा एआई र सामाजिक प्रभाव’ विषयक विशेष कार्यशाला आयोजना गर्दै नेपालले आफ्नै सार्वभौम एआई विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ।टेकपाइला इनोभेसन्स र वान कभर प्राइभेट लिमिटेडको सहकार्यमा आयोजित कार्यशालामा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा र राष्ट्रिय डिजिटल क्षमताबीचको सम्बन्धबारे व्यापक छलफल भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डिन एवं पूर्व रजिस्ट्रार अजय कुमार थापाले विश्वविद्यालयको इतिहास, उद्देश्य र राष्ट्र निर्माणमा उच्च शिक्षाको भूमिकामाथि प्रकाश पार्दै विश्वव्यापी प्राविधिक परिवर्तनसँग प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताए।
मुख्य वक्ता क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा टेकपाइला इनोभेसन्सका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीले नेपालले विदेशी एआई प्लेटफर्ममा मात्र निर्भर रहने अवस्था अन्त्य गर्दै आफ्नै एआई पूर्वाधार, डाटा प्रणाली र डिजिटल क्षमता विकास गर्नुपर्नेमा जोड दिए। उनले ‘सार्वभौम एआई’ डिजिटल आत्मनिर्भरताको आधार भएको उल्लेख गर्दै यसले राष्ट्रिय सुरक्षा, डाटा सार्वभौमिकता र नवप्रवर्तनलाई बल पुर्याउने बताए।
डिन थापाले एआई र साइबर सुरक्षामा ‘सीप-पहिलो’ दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई भविष्यका चुनौतीसँग जुध्न सक्षम बनाउने विश्वास व्यक्त गरे। कार्यक्रममा श्रमिक शान्ति क्याम्पसका पूर्व अध्यक्ष हरिकृष्ण बञ्जाङ्करले आधुनिक शिक्षामा उद्योग-शैक्षिक सहकार्यको महत्त्व औंल्याए।
कार्यशालाको अर्को आकर्षण एथिकल ह्याकर स्वागत अर्याल र प्रलिन बारामुले प्रस्तुत गरेको लाइभ फिसिङ डेमो रह्यो। उनीहरूले सामाजिक इन्जिनियरिङमार्फत हुने साइबर आक्रमणका तरिका, एआईको प्रयोगबाट विकसित भइरहेका नयाँ साइबर जोखिम तथा त्यसबाट बच्ने उपायबारे व्यावहारिक प्रदर्शन गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूका लागि प्राविधिक हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो।
कार्यक्रमको समापन गर्दै क्याम्पसका कार्यक्रम संयोजक फूलबाबु झाले उद्योग-शिक्षा सहकार्यलाई थप सुदृढ बनाउन टेकपाइला इनोभेसन्स र वान कभर प्राइभेट लिमिटेडसँग छिट्टै औपचारिक समझदारी (एमओयू) गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार साझेदारीपछि विद्यार्थीले मेन्टरसिप, इन्टर्नसिप तथा उन्नत प्राविधिक तालिमका थप अवसर प्राप्त गर्नेछन्।
