
पोखरा । पोखरा महानगरपालिका वडा नं. १५ र १७ को बीच भागमा सेती नदी थुनिँदा नदीको पानीको सतह करिब ५० मिटरले बढेको छ। नदीको बहाव अवरुद्ध भएर जलाशय बनेपछि सम्भावित विपद् जोखिम बढेको भन्दै महानगरपालिकाले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महानगरपालिकाका अनुसार थुनिएको नदी एक्कासि खुल्न सक्ने वा जलाशय आसपासका दायाँ–बायाँका जमिन भासिन सक्ने जोखिम रहेकाले ठूलो जनधनको क्षति हुन सक्ने सम्भावना छ। यसैलाई ध्यानमा राख्दै रातोपैह्रा, महत्तगौंडा, लामातारा, दोबिल्ला लगायत सेती नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
कार्यवाहक प्रमुख मन्जुदेवी गुरुङले थुनिएको नदीलाई पुनः प्राकृतिक बहावमा फर्काउने प्रयास भइरहेको जानकारी दिँदै सम्बन्धित निकाय, प्राविधिक विज्ञ तथा सरोकारवालासँग समन्वय गरेर जोखिम न्यूनीकरणका लागि आवश्यक पहल भइरहेको बताउनुभयो।
घटनास्थलको निरीक्षणका लागि कार्यवाहक प्रमुख गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला सुरक्षा समितिका पदाधिकारी, प्राविधिक विज्ञ तथा सरोकारवाला निकायका प्रतिनिधिहरू पुगेका थिए। निरीक्षणका क्रममा सम्भावित जोखिमको मूल्याङ्कन गर्दै आवश्यक पूर्वतयारी र सुरक्षा उपायबारे छलफल गरिएको थियो।
महानगरपालिकाले सेती नदी आसपासका बासिन्दालाई अफवाहमा विश्वास नगर्न, आधिकारिक सूचना र सुरक्षा निकायको निर्देशन पालना गर्न तथा कुनै असामान्य अवस्था देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।
स्थानीय प्रशासनले परिस्थितिलाई निरन्तर निगरानीमा राखेको जनाएको छ भने जोखिम पूर्ण रूपमा टरेसम्म नदी आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

