सेवाग्राहीको चाप बढेपछि कास्कीमा बिहानैबाट राष्ट्रिय परिचयपत्र सेवा, म्यासेज आएपछि मात्र आउन आग्रह

Share:

पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले सेवाग्राहीको चाप बढेपछि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहान आठ बजेदेखि नै सुरु गर्ने भएको छ ।

बुधबारदेखि लागु हुने गरी उक्त सेवा प्रवाहका लागि समय थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

सेवाग्राहीले सार्वजनिक बिदाका दिनबाहेक हरेक बिहान आठ बजेदेखि नै राष्ट्रिय परिचयपत्रसम्बन्धी प्राप्त गर्ने उनले बताए ।

राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रदान गर्न प्रयोग हुने ‘सफ्टवेयर अपग्रेड’ हुने क्रममा रहेकाले उक्त सेवा सुस्त हुने र कहिले अवरुद्धसमेत हुने समस्या देखिँदै आएको कार्यालयले जनाएको छ ।

जसका कारण समयमा सेवा प्रवाह हुन नसकी कार्यालयमा सेवाग्राहीको चाप बढ्दै गएको हो ।

कार्यालयले मङ्गलबार सार्वजनिक सूचनामार्फत विगतमा तस्बिर खिचाएर बायोमेट्रिक दिएका सेवाग्राहीलाई राष्ट्रिय परिचय आएकोबारे मोबाइलमा सन्देश आएपछि मात्र कार्यालयमा आउन आग्रह गरेको छ ।

राष्ट्रिय परिचयपत्र वितरणका लागि कार्यालयले जारी गर्ने आधिकारिक सूचना हेरेर मात्र कार्यालयमा आउन सेवाग्राहीलाई अनुरोध गरिएको हो ।

 

कमेन्ट गर्नुहोस्
Share: