
पोखरा । नेपाली कांग्रेस कास्कीले विविध रचनात्मक कार्यक्रम आयोजना गर्दै ४४ औँ बीपी स्मृति दिवस मनाएको छ। स्मृति दिवसकै अवसर पारेर पार्टीले सञ्चालन गर्दै आएको संगठन सुदृढीकरण सम्बन्धी ‘जरा अभियान’ पनि औपचारिक रूपमा समापन गरिएको छ।
स्मृति दिवसको सन्दर्भमा कास्की कांग्रेसले विद्यार्थीहरूबीच ‘पोखरा पर्यटन सम्बन्धी नीति लेखन’ र ‘बीपीबाट आजका युवाले के सिक्ने?’ विषयक वक्तित्वकला प्रतियोगिता आयोजना गरेको थियो।
नेपाली कांग्रेस कास्कीका सहसचिव एवम् प्रवक्ता नवीन सिग्देलका अनुसार ११ जनाको सहभागिता रहेको नीति लेखन प्रतियोगितामा सुशान्त पराजुली प्रथम, इन्जिनियर प्रदीप सिग्देल द्वितीय र संगीता गौतम तृतीय भएका छन्। विजेताहरूलाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ।
त्यस्तै, १२ जना विद्यार्थी सहभागी वक्तित्वकला प्रतियोगितामा एसओएसकी प्रेरिका बराल प्रथम, लक्ष्मी आदर्श माविकी सम्झना बेलवासे द्वितीय, एसओएसकै अनुजा गौतम तृतीय र रामज्योति माविकी स्वेच्छा परियार सान्त्वना स्थान हासिल गर्न सफल भए। उनीहरूलाई क्रमशः नगद १० हजार, ८ हजार, ५ हजार र २ हजार रुपैयाँका साथै प्रमाणपत्रद्वारा पुरस्कृत गरियो।
विशेष समारोहमा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बीपी कोइरालाले देश र जनताको पक्षमा सधैँ निडर भएर काम गरेको स्मरण गरे। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य विष्णुदेवी पाण्डेले बीपीका विचार र सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन्।
नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेता धर्म अधिकारीले बीपीको राजनीतिक योगदान र साहित्यकार सञ्जीव पौडेलले उनको साहित्यिक पाटोबारे चर्चा गरेका थिए।
यसैगरी पोखरा महानगरपालिका कार्यसमितिका प्रवक्ता धनञ्जय पौडेलले जरा अभियानका क्रममा अद्यावधिक गरिएको क्रियाशील सदस्यताको अवस्थाबारे जानकारी गराएका थिए। कास्की कांग्रेसका सचिव देवेन्द्र रानाभाटले सञ्चालन गरेको कार्यक्रममा उपसभापति युवराज कुँवरले धन्यवाद ज्ञापन गरेका थिए।
