
पोखरा । नेपाली कांग्रेस कास्कीका १० हजार ३ सय ५५ जना क्रियाशील सदस्यले अझै सदस्यता अद्यावधिक नगरेको तथ्य सार्वजनिक भएको छ। बुधबार पोखरामा आयोजित बिपी कोइरालाको ४४औँ स्मृति दिवस तथा ‘जरा अभियान’ समापन समारोहमा सार्वजनिक विवरणले जिल्लामा पार्टीको सांगठनिक अवस्था चुनौतीपूर्ण रहेको देखाएको हो।
जरा अभियानअन्तर्गत कास्कीका प्राविधिक टोली सदस्य धनञ्जय पौडेलका अनुसार ११ हजार ३ सय २७ जनाले मात्रै सदस्यता अद्यावधिक गरेका छन्, जबकि करिब ५० प्रतिशत सदस्य अझै अद्यावधिक प्रक्रियाबाहिर छन्। उनका अनुसार २ हजार १ सय ९५ नयाँ सदस्यको नाम अनुमोदनको चरणमा, २१२ जनाको विवरणमा समस्या रहेको र ३७० जना सदस्यको मृत्यु भइसके पनि विवरण अद्यावधिक हुन बाँकी छ।
पछिल्लो तथ्यांकअनुसार कास्कीमा सदस्यता अद्यावधिकको दर ६३ प्रतिशत पुगेको छ। सबैभन्दा धेरै सदस्यता अद्यावधिक हुन बाँकी पोखरा महानगरपालिकामा ७ हजार ७ सय ६ जना रहेका छन्। यस्तै अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रूपा गाउँपालिकामा पनि सयौं सदस्यको अद्यावधिक प्रक्रिया अझै पूरा हुन सकेको छैन।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र र देश बलियो हुने बताए। उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्दै बिपी कोइरालाको विचार र सिद्धान्तमा दृढ रहनुपर्नेमा जोड दिए।
केन्द्रीय सदस्य तथा जरा अभियानकी कास्की प्रतिनिधि विष्णुदेवी पाण्डेले पदभन्दा व्यवहार ठूलो हुने उल्लेख गर्दै पार्टीलाई जगैदेखि सुदृढ बनाउने उद्देश्यले जरा अभियान सञ्चालन गरिएको बताइन्। उनका अनुसार अभियानको उद्देश्य सदस्यता अद्यावधिक, जनतासँग पार्टीको सम्बन्ध सुदृढ बनाउने तथा १५औँ महाधिवेशनको तयारी गर्नु हो।
जरा अभियानकै अवसरमा नेपाली कांग्रेस कास्कीले विद्यालयस्तरीय वक्तृत्वकला तथा ‘पोखराको दिगो पर्यटन विकास’ विषयक नीतिगत खाका लेखन तथा प्रस्तुतीकरण प्रतियोगिता पनि आयोजना गरेको थियो।
विद्यालयस्तरीय वक्तृत्वकलामा एसओएस हर्मन माइनर स्कुलकी प्रेरिका बराल प्रथम हुँदै १० हजार रुपैयाँ पुरस्कार जितिन्। दिगो पर्यटन विकास विषयक प्रतियोगितामा सुशान्त पराजुली प्रथम हुँदै २५ हजार रुपैयाँसहित सम्मानित भए। कार्यक्रममा विजेताहरूलाई कांग्रेसका प्रदेश तथा केन्द्रीय नेताहरूले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
