‘अपरेसन ३६५’ अन्तर्गत थप ३३ मोटरसाइकल नियन्त्रणमा, हालसम्म ७७३ सवारीसाधन कारबाहीमा

Share:

पोखरा । कास्की प्रहरीले ध्वनि प्रदूषण नियन्त्रण अभियानअन्तर्गत सञ्चालन भइरहेको ‘अपरेसन ३६५’ अन्तर्गत थप ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन ७ गते (बिहीबार) राति पोखरा महानगरपालिकाका विभिन्न स्थानमा गरिएको विशेष चेकजाँचका क्रममा स्वरूप परिवर्तन गरी अत्यधिक ध्वनि प्रदूषण गर्ने ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको हो।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीले महेन्द्रपुल र नयाँबजार क्षेत्रबाट २ वटा, वडा प्रहरी कार्यालय बैदामले लेकसाइड, सिर्जनाचोक र राष्ट्र बैंकचोक क्षेत्रबाट १० वटा, इलाका प्रहरी कार्यालय शिशुवाले तालचोक र गगनगौंडा क्षेत्रबाट २ वटा, वडा प्रहरी कार्यालय बगरले बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी र नदीपुर क्षेत्रबाट १४ वटा तथा वडा प्रहरी कार्यालय रामबजारले अमरसिंहचोक, अस्पतालचोक र बुद्धचोक क्षेत्रबाट ५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ‘अपरेसन ३६५’ सुरु भएयता हालसम्म स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ७७३ वटा सवारीसाधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको छ। प्रहरीले ध्वनि प्रदूषण नियन्त्रण तथा सुरक्षित र व्यवस्थित सवारी सञ्चालनका लागि अभियानलाई निरन्तरता दिइने जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: