पोखरामा अनलाइन स्क्याम गर्ने भारतीय नागरिकसहित गिरोह नियन्त्रणमा, ९ लाख ६५ हजार ठगी गरेको आरोप

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका-५ पर्स्याङबाट अनलाइन स्क्याममा संलग्न भारतीय नागरिकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार साउन ८ गते दिउँसो करिब २ बजे पुष्पेन्द्र कोइरालाको घर भाडामा लिएर भारतीय नागरिकसहितको समूहले एसिया र युरोपका विभिन्न देशमा घुम्न लैजाने प्रलोभन देखाई अनलाइन स्क्याम गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।

प्रहरीले उक्त स्थानबाट सप्तरीको कञ्चनपुर नगरपालिका-१२ निवासी २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, महेश्वर जिल्ला, शान्तिनगर निवासी ३० वर्षीय मोहम्मद याशिर लाई नियन्त्रणमा लिएको जनाएको छ।

उनीहरूको साथबाट दुई थान कम्प्युटर तथा मनिटर, आठ थान विभिन्न रजिस्टर तथा रेकर्ड बुक, छ थान कुपन रसिद, चार थान स्टेम्प छाप तथा विभिन्न व्यक्तिको नाममा काटिएका कुपनका अर्धकट्टी लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले Oasis Tourism International नामक संस्था स्थापना गरी १५ जना युवायुवतीलाई परिचालन गर्दै अनलाइन तथा टेलिफोनमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी “3N/4D Holiday Voucher Fill & Win Register & Win Assured Gift” लेखिएको कुपन भर्न लगाएर रकम असुल्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

हालसम्म उनीहरूले ३० जनालाई एसिया र युरोपका विभिन्न देश भ्रमण गराइदिने प्रलोभनमा पारी कुपन भर्न लगाएर ९ लाख ६५ हजार ठगी गरेको तथा १५ जना बेरोजगार युवायुवतीलाई रोजगारीको प्रलोभन देखाई अवैधानिक गतिविधिमा संलग्न गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: