
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का महासचिव सी जिनपिङसँग भेट सुनिश्चित भए मात्र चीन भ्रमणमा जाने अडान लिएका छन्।
यही कारण उनको प्रस्तावित चीन भ्रमणको मिति अझै टुंगो लाग्न नसकेको रास्वपा स्रोतले जनाएको छ। सीपीसीको निमन्त्रणामा पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौको पहिलो साता चीन भ्रमणको तयारीमा रहेका लामिछानेले राष्ट्रपति सीसँगको भेटलाई आफ्नो भ्रमणको प्रमुख प्राथमिकताका रूपमा राखेका छन्।
रास्वपाका नेताहरूका अनुसार भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक नेतृत्वसँग भएको भेटघाटजस्तै बेइजिङमा पनि उच्च तहको राजनीतिक संवाद हुने अपेक्षाका साथ उनी भ्रमणको तयारीमा छन्।
यसअघि जुलाईको तेस्रो साताका लागि तय गरिएको भ्रमण राष्ट्रपति सीसँग भेटको सुनिश्चितता हुन नसकेपछि भदौका लागि सारिएको बताइएको छ। यदि यसपटक पनि सीसँगको भेट निश्चित नभए भ्रमण पुनः स्थगित हुन सक्ने संकेत रास्वपाका नेताहरूले दिएका छन्।
रास्वपा सभापतिको हैसियतमा लामिछानेको यो पहिलो चीन भ्रमण हुनेछ। सात दिने भ्रमणका क्रममा चिनियाँ उपराष्ट्रपति हान झेङ, विदेशमन्त्री वाङ यी तथा सीपीसीको अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग भेटवार्ता हुने लगभग निश्चित भएको बताइएको छ।
यद्यपि राष्ट्रपति सीसँग भेट हुने वा नहुने निर्णयका आधारमा भ्रमण तालिका परिवर्तन हुन सक्ने स्रोतको भनाइ छ। यसअघि जेठ १९ देखि २३ गतेसम्म भारत भ्रमण गरेका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस। जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए। उनको भ्रमणलाई भारतीय जनता पार्टी (भाजपा) का शीर्ष नेताहरूले उच्च प्राथमिकताका साथ स्वागत गरेका थिए।
रास्वपा स्रोतका अनुसार लामिछाने चीन भ्रमणले पनि भारत भ्रमणसरह राजनीतिक महत्व र कूटनीतिक सम्मान प्राप्त गरोस् भन्ने चाहन्छन्। त्यसैले राष्ट्रपति सीसँगको सम्भावित भेटलाई उनले भ्रमणको सबैभन्दा महत्वपूर्ण एजेन्डा बनाएका छन्।
चीनले कूटनीतिक प्रोटोकललाई अत्यन्त कडाइका साथ पालना गर्ने भएकाले राष्ट्रपति सीले विदेशी राजनीतिक दलका नेतासँग भेट गर्ने वा नगर्ने निर्णय अन्तिम समयमा मात्र हुने गरेको छ। यही कारण लामिछानेको बेइजिङ यात्रा कहिले हुने भन्ने विषय अझै अनिश्चित बनेको छ।
