
पोखरा । पोखराको पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रमा छोटो समयमै पहिचान बनाउन सफल ‘बर पीपल रिसोर्ट’ सातौँ वर्षमा प्रवेश गरेको छ । लेकसाइडको स्ट्रिट नं. २८, मनिमार्गस्थित करिब ११ रोपनी क्षेत्रफलमा फैलिएको यो पाँचतारे स्तरको रिसोर्टले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा सामाजिक कार्य गर्नुका साथै ग्राहकका लागि विशेष छुटको घोषणा गरेको छ ।
वार्षिकोत्सवको अवसरमा रिसोर्टले अगस्ट महिनाभरि खान र बस्नका लागि १५ प्रतिशतसम्म छूट दिने सञ्चालक अमरजंग गुरुङ (जितु) ले जानकारी दिए ।
स्थापनाकालमै कोरोना महामारी र गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीजस्ता ठूला चुनौती व्यहोरे पनि उत्कृष्ट सेवाका कारण रिसोर्ट पाहुनाको पहिलो रोजाइमा पर्न सफल भएको छ। “आगजनी र विभिन्न उतारचढाव आए पनि हामी विचलित भएनौँ, आतिथ्यतामा कुनै कसर बाँकी नराखी निरन्तर पाहुनाको सेवामा लागिरह्यौँ,” सञ्चालक गुरुङले भने।
रिसोर्टले सातौँ वर्ष प्रवेशको अवसरमा हेमजामा रहेको मानव सेवा आश्रममा खाद्यान्न सामग्री सहयोग गरेको छ। यसैगरी, लमजुङको दोर्दी-३ स्थित श्रीकृष्णप्रमोद प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई पोशाक र २ थान कम्प्युटर वितरण गरिएको छ। वार्षिकोत्सवमै रिसोर्टका उत्कृष्ट कर्मचारीहरूलाई सम्मानसमेत गरिने जनाइएको छ।
पोखराको पर्यटन क्षेत्रमा ३ दशकदेखि सक्रिय गुरुङले परम्परागत नेपाली वास्तुकला, इँटा र काठको बुट्टा कुँदिएको कलात्मक शैलीमा रिसोर्ट निर्माण गरेका हुन्।
नेपाली समाजमा विश्राम र सहअस्तित्वको प्रतीक मानिने ‘बर-पीपल’ को अवधारणामा निर्मित यस रिसोर्टमा हाल १०० जनाले रोजगारी पाएका छन्।
रिसोर्टमा फेवाताल र वरपरका हरिया पहाड देखिने ५० भन्दा बढी डिलक्स, सुपर डिलक्स र एक्जिक्युटिभ सुइटहरू रहेका छन्। साथै, आकर्षक आउटडोर स्विमिङ पुल, स्पा, साउना, फिटनेस जिम, रैथाने तथा अन्तर्राष्ट्रिय परिकार पाइने फाइन-डाइन रेस्टुरेन्ट, कफी सप, र आधुनिक मिटिङ हल रिसोर्टका प्रमुख आकर्षण हुन्।
आफ्नो विशिष्ट मौलिकताका कारण यो रिसोर्ट स्वदेशी तथा विदेशी पर्यटकका साथै विभिन्न सेलिब्रेटीहरूको पनि रोजाइमा पर्दै आएको छ।



