
पोखरा । सञ्चार क्षेत्रमा बढ्दो कार्यचाप र मानसिक तनावलाई मध्यनजर गर्दै पत्रकारहरूको मानसिक स्वास्थ्य, आत्मिक सशक्तीकरण तथा सकारात्मक सञ्चार संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ।
सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर-६ शाखाको सहकार्यमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशिक्षक ब्रह्माकुमार विजयराज सिग्देलले सञ्चारकर्मीहरूले दैनिक रूपमा भोग्ने मानसिक दबाबलाई व्यवस्थापन गर्न ध्यान (मेडिटेसन), सकारात्मक सोच र आत्मिक अनुशासन अपरिहार्य भएको बताए। उनका अनुसार वेलनेस हिलिङले मानसिक शान्ति, आत्मविश्वास, निर्णय क्षमता र कार्यदक्षता अभिवृद्धि गर्दै जिम्मेवार र प्रभावकारी सञ्चारमा महत्वपूर्ण योगदान पुर्याउँछ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर-६ शाखाकी सञ्चालिका ब्रह्माकुमारी पुनम दिदीले पत्रकारहरू समाज परिवर्तनका संवाहक भएकाले उनीहरूको मानसिक, भावनात्मक र आत्मिक स्वास्थ्य सुदृढ हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले सञ्चारिका समूहसँगको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरिन् ।
सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशकी अध्यक्ष राधिका कँडेलले सञ्चार क्षेत्रमा बढ्दो मानसिक दबाबका बीच पत्रकारहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम आयोजना गरिएको बताउँदै यस्ता सिर्जनात्मक तथा क्षमता अभिवृद्धिमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइन् ।
प्रशिक्षणका क्रममा सहभागी पत्रकारहरूलाई ध्यान अभ्याससमेत गराइएको थियो। सहभागीहरूले यस्तो कार्यक्रमले तनाव व्यवस्थापन, मानसिक स्वास्थ्य प्रवर्द्धन, आत्मिक सशक्तीकरण तथा व्यवसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।
पत्रकार, सञ्चारकर्मी तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशकी अध्यक्ष राधिका कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन उपाध्यक्ष कञ्चन थापाले गरेका थिए।
आयोजकका अनुसार यस्ता कार्यक्रमले पत्रकारहरूबीच मानसिक स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै सकारात्मक सोच, आत्मिक शान्ति र जिम्मेवार सञ्चार संस्कृतिको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।
