पोखरामा युवा नेपाल समितिले गर्यो ३५ युनिट रगत संकलन

Share:

पोखरा । “तपाईंको एक थोपा रगत, कसैको अमूल्य जीवन” भन्ने सन्देशसहित युवा नेपाल समिति कास्कीले शनिबार पोखरा–१७ ड्यामसाइडस्थित राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो नेपाल) को प्राङ्गणमा आयोजना गरेको स्वेच्छिक रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ।

बढ्दो रगत अभावलाई केही हदसम्म न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय युवा, समाजसेवी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा ठूलो सामाजिक योगदानका रूपमा लिँदै स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ का अध्यक्ष राधिका योगीले युवाहरू सामाजिक तथा मानवीय सेवामा अग्रसर हुनु समाजका लागि प्रेरणादायी भएको बताइन् ।

उनले रक्तदानभन्दा ठूलो दान अर्को हुन नसक्ने उल्लेख गर्दै यस्ता अभियानले मानवता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरिन्।

विशेष अतिथि नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाईंले रक्तदानले बिरामीको जीवन बचाउनुका साथै समाजमा सहयोग, सद्भाव र भ्रातृत्वको भावना अभिवृद्धि गर्ने धारणा राखे। उनले यस्ता अभियानलाई निरन्तरता दिन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रमका अध्यक्ष तथा युवा नेपाल समिति कास्कीका अध्यक्ष सोचना सेन ठकुरीले रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाता, अतिथि तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समाज रूपान्तरण र मानवीय सेवासँग सम्बन्धित यस्ता अभियानलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा समितिका सल्लाहकार जयप्रकाश थापाले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव सरिता हमालले गरेका थिइन् ।

मानवीय सेवाको उत्कृष्ट उदाहरण बनेको यस रक्तदान कार्यक्रमले युवाहरू सामाजिक उत्तरदायित्वप्रति सचेत र सक्रिय रहेको सन्देश दिएको सहभागीहरूले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: