पोखरामा ट्राफिकको कडाइ: नियम उल्लंघन गर्ने ९ विद्यालयका सवारी चालक कारबाहीमा

Share:

पोखरा। पोखरा महानगर क्षेत्रमा विद्यालयका सवारी साधनमाथि गरिएको विशेष ट्राफिक चेकजाँचका क्रममा विभिन्न ९ विद्यालयका सवारी चालक कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालन गरेको अभियानमा नियम उल्लंघन गर्ने चालकहरूलाई कानुनी कारबाही गरिएको जनाएको छ।

कारबाहीमा पर्ने विद्यालयहरूमा केईएफ स्कुल, प्राइम मन्टेश्वरी, सगरमाथा बोर्डिङ स्कुल, इन्द्र राज्य लक्ष्मी माध्यमिक विद्यालय, आमा एकेडेमी, बिन्ध्यश्वरी माध्यमिक विद्यालय, पोखरा दिप मन्टेश्वरी, फुलबारी मन्टेश्वरी र बेस बोर्डिङ स्कुल रहेका छन्।

ट्राफिक प्रहरीका अनुसार विद्यालयका सवारी साधनले ट्राफिक नियमको पालना गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न नियमित निगरानीलाई तीव्र बनाइएको हो।

कार्यालय तथा मातहतका इकाइहरूले संयुक्त रूपमा सञ्चालन गरेको चेकजाँच अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने जनाइएको छ।

विद्यालयका गाडीले क्षमताभन्दा बढी विद्यार्थी बोक्ने, सुरक्षा मापदण्ड पालना नगर्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने गुनासो बढ्दै गएपछि यस्तो विशेष अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

कारबाहीमा परेका चालकलाई ट्राफिक नियमबारे सचेत गराउँदै कानुनअनुसार जरिवाना समेत गरिएको छ।

प्रहरीले विद्यालय प्रशासन र सवारी चालकलाई विद्यार्थीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: