जनप्रिय क्याम्पसका विद्यार्थीलाई संघीयता र प्रदेशसभाबारे व्यावहारिक अभिमुखीकरण

Share:

पोखरा । संसदीय पत्रकार मञ्च गण्डकीले पोखराको जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थीलाई संघीयता, नेपालको शासन व्यवस्था तथा प्रदेशसभाको अभ्यासबारे अभिमुखीकरण गरेको छ। युवा लक्षित ‘संसदीय पहुँच’ कार्यक्रमअन्तर्गत मंगलबार आयोजित कार्यक्रममा क्याम्पसका विभिन्न तहमा अध्ययनरत १०८ विद्यार्थी सहभागी भएका थिए।

कार्यक्रममा गण्डकी प्रदेशसभा सचिवालयका कानुनतर्फका उपसचिव आमोद दाहालले नेपालको संघीय शासन प्रणाली, प्रदेशको क्षेत्राधिकार तथा संविधानले सुनिश्चित गरेका मौलिक हकबारे सहजीकरण गरे। नेपाल तीन तहको संघीय शासन प्रणालीमा सञ्चालन भइरहेको उल्लेख गर्दै उनले संघीयताले शक्ति विकेन्द्रीकरणमार्फत विविधताको सम्मान र समावेशी शासनलाई बल पुर्‍याउने बताए। उनले संविधानले नागरिकलाई ३१ वटा मौलिक हक प्रदान गरेको जानकारी पनि दिए।

दाहालले गण्डकी प्रदेशसभाको संरचना, अधिकार र कार्यसम्पादनबारे प्रस्तुति दिँदै प्रदेशमा ११ जिल्ला र ३६ निर्वाचन क्षेत्र रहेको जानकारी गराए। प्रदेशसभामा ६० सदस्य रहने व्यवस्था रहेको, जसमध्ये ३६ जना प्रत्यक्ष निर्वाचन र २४ जना समानुपातिक प्रणालीबाट चयन हुने उनले बताए। हाल प्रदेशसभामा २३ जना आदिवासी जनजाति, ३१ जना खस-आर्य र ६ जना दलित समुदायको प्रतिनिधित्व रहेको तथ्यांकसमेत प्रस्तुत गरिएको थियो।

जनप्रिय क्याम्पसका प्लस-टु को-अर्डिनेटर मदनकुमार जैसीले कक्षा १२ को सामाजिक अध्ययनमा समेटिएको संघीयता र शासन व्यवस्थाको विषयलाई व्यावहारिक रूपमा बुझ्न कार्यक्रम प्रभावकारी भएको बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीको सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने विश्वास व्यक्त गरे।

उपप्राध्यापक वेदहरि तिमल्सिनाले पत्रकारले समाचार संकलनसँगै विद्यालय र क्याम्पसमा पुगेर जनचेतना अभिवृद्धि गर्ने कार्य प्रशंसनीय भएको बताए। उनले विद्यार्थीमा राजनीतिक चेतना, संविधानप्रतिको बुझाइ र नीति निर्माण प्रक्रियाप्रति चासो बढाउन यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।

मञ्चका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक भरत कोइरालाले संघीयता र प्रदेशसभाको संरचनाबारे विद्यार्थीलाई प्रत्यक्ष जानकारी दिन कार्यक्रम सफल भएको बताउँदै आगामी दिनमा अन्य क्याम्पसमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। कार्यक्रममा गण्डकी प्रदेशसभाले निर्माण गरेका कानुन, आर्थिक कार्यविधि तथा प्रदेशका अधिकारसूचीबारे समेत जानकारी गराइएको थियो। विद्यार्थी विनीता क्षेत्री र मन्दिप पोखरेलले संवैधानिक व्यवस्था तथा मौलिक हकका विषयमा जिज्ञासा राखेका थिए।

कार्यक्रममा संसदीय पत्रकार मञ्चका संस्थापक अध्यक्ष लालप्रसाद शर्मा, सल्लाहकार केशवशरण लामिछाने, सहसचिव उमा आले मगर, कोषाध्यक्ष ऋषिराम बराललगायत पदाधिकारी, शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो। मञ्चले संसदीय पत्रकारितामार्फत प्रदेशसभा र नागरिकबीच पुलको भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै सहभागीहरूले यस्ता कार्यक्रमले नागरिकलाई संसदीय प्रक्रियासँग अझ नजिक जोड्ने विश्वास व्यक्त गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: