
पोखरा। जिल्ला समन्वय समिति (जिसस) कास्कीले आफ्नो नवौं स्थापना दिवसको अवसरमा आयोजना गरेको निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ। ‘कास्की जिल्लाको सन्तुलित विकासमा जिल्ला समन्वय समितिको भूमिका’ शीर्षकमा आयोजित प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ जना विद्यार्थी सहभागी भएका थिए।
प्रतियोगितामा मर्निङ स्टार बोर्डिङ स्कुलका सक्षम अधिकारी प्रथम भए। त्यसैगरी सृजना माध्यमिक विद्यालयका आयुष पौडेल द्वितीय, रेन्बो एकेडेमी होम्सका एन्जि भुजेल तृतीय तथा बिन्देश्वरी माध्यमिक विद्यालय, पोखरा-१९ की एलिया अधिकारी सान्त्वना स्थान हासिल गर्न सफल भइन्।
विजेताहरूले क्रमशः १० हजार, ७ हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन्।प्रतियोगिताको निर्णायक मण्डलमा प्राध्यापक डा. बोधराज ढकाल, प्रदीप पौडेल र लक्षु शर्मा रहेका थिए। स्थापना दिवस समारोहमा जिसस कास्कीका प्रमुख लिलाधर पौडेल, उपप्रमुख सरिता माल, सदस्यहरू तथा जिल्ला समन्वय अधिकारी नवराज बरालले विजयी विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पौडेलले जिल्ला समन्वय समितिको काम, कर्तव्य र भूमिकालाई नेपाल सरकारले सामाजिक अध्ययन विषयअन्तर्गत कक्षा ७ को पाठ्यक्रममै समावेश गरेको उल्लेख गरे। स्थापना दिवसको अवसरमा निबन्ध प्रतियोगिता आयोजना गर्नुको उद्देश्य विद्यार्थीमा जिल्ला समन्वय समितिप्रति जानकारी अभिवृद्धि गर्नुका साथै उनीहरूको सिर्जनात्मक तथा अन्तर्निहित क्षमताको विकासमा टेवा पुर्याउनु रहेको उनले बताए।
समारोहमा जिसस कास्कीका पूर्वप्रमुख बैनबहादुर अधिकारी क्षेत्री, गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझा, नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का, नागरिक समाज कास्कीका संयोजक रामबहादुर पौडेल, साविक जिल्ला विकास समिति कास्कीका सभापति पुण्यप्रसाद पौडेल, उपसभापति श्रीनाथ बराल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका अधिकारी, जिसस कास्कीकी पूर्व उपप्रमुख सावित्री तिमिल्सिना, नेपाल कम्युनिस्ट पार्टी कास्कीका संयोजक खड्ग हमाल, राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका उपाध्यक्ष चिनबहादुर गुरुङ, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल तथा पोखरा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मुक्तिराम अर्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
जिसस कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपप्रमुख सरिता मालले र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए।




