पोखराको दुई ठाउँबाट १८ जना पक्राउ

Share:

पोखरा । कास्की प्रहरीले पोखराका दुई छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ६२ हजार ३३१ रुपैयाँ नगदसहित तास बरामद गरेको जनाएको छ।

जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका-१७ ड्यामसाइडबाट ६ जना र वडा नम्बर ३१ भाटामुलबाट १२ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ड्यामसाइडमा शनिबार साँझ करिब ६ः३० बजे जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका थिए। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरूको साथबाट २८ हजार ७० रुपैयाँ नेपाली, २ हजार ५०१ भारतीय रुपैयाँ र १५६ पत्ती तास बरामद गरेको छ।

त्यस्तै, शनिबार दिउँसो पोखरा-३१ भाटामुलबाट पनि १२ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट ३१ हजार ७६० रुपैयाँ र ४ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै स्थानबाट बरामद रकम जोड्दा नेपाली र भारतीय मुद्रा गरी ६२ हजार ३३१ रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पक्राउ परेका १८ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। उनीहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानले विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरी उनीहरूलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको बताए।

उनका अनुसार समुदायमा हुने यस्ता अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाहीलाई थप सक्रिय बनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: