मोदी खोलामा भीषण बाढीले सडक र पुल बगायो, मन्दिरमा फसेका ३ जनाको उद्धार प्रयास जारी

Share:

पोखरा । अविरल वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित मोदी खोलामा आएको भीषण बाढीले सडक, पुल तथा धार्मिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने खोलाको बीच भागमा रहेको मन्दिरमा तीन जना व्यक्ति फसेका छन्।

बिहीबार रातिदेखि परेको भारी वर्षापछि बाढीले अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीस्थित नयाँपुल–बिरेठाँटी-घान्द्रुक सडक खण्ड कटान गरी बगाएपछि सो क्षेत्रमा सवारी आवागमन ठप्प भएको छ।

घटनालगत्तै प्रहरी चौकी बिरेठाँटीबाट प्रहरी नायब निरीक्षक दिलबहादुर भण्डारीको नेतृत्वमा ५ जनाको टोली खटिएर क्षतिको अनुगमन तथा सुरक्षा व्यवस्थापन गरिरहेको छ।

यसैगरी, अन्नपूर्ण गाउँपालिका-५ हाईजुङस्थित मोदी खोलाको बीचभाग (डिस्को) मा रहेको माता अन्नपूर्ण मन्दिरमा बाढीका कारण एक जना पुजारीसहित तीन जना पुरुष फसेका छन्। साउन २९ गते राति १:२७ बजे खबर प्राप्त हुनासाथ प्रहरी चौकी नयाँपुलका प्रहरी सहायक निरीक्षक रमेश अधिकारीको नेतृत्वमा प्रहरी टोली खटिएको छ।

फसेकाहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नम्बर २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमाण्डमा १३ जनाको विपद् व्यवस्थापन टोलीसमेत परिचालन गरिएको छ। निरन्तर वर्षा भइरहेकाले पानीको सतह अझै बढेमा मन्दिर रहेको पूरै भूभाग नै बगाउने जोखिम रहेको प्रहरीले जनाएको छ।

यसअघि साउन २० गतेको बाढीले अन्नपूर्ण गाउँपालिका-६ हाईजुङ र पर्वतको मोदी गाउँपालिका-१ जोड्ने फलामे पैदल पुलको कास्कीतर्फको भाग भत्काएर खोलामा खसालेको थियो। साउन २८ गते आएको पछिल्लो बाढीले खोलामा खसेको उक्त पुलसमेत बगाएर लगेपछि पुनःस्थापना थप जटिल बनेको छ।

बाढीका कारण पर्वततर्फ रहेको अन्नपूर्ण मन्दिरको पर्खाल भत्किँदा मन्दिर क्षेत्र उच्च जोखिममा परेको छ। मोदी खोलामा पानीको बहाव अत्यधिक बढेकाले नदी किनारका बस्ती र सडक आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर निगरानीका साथ उद्धार तयारी जारी राखेका छन्।

कमेन्ट गर्नुहोस्
Share: