
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको मागमा चाप बढेर केही असहजता देखिएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ । शुक्रबार सिहदरबारमा आयोजित मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम तथा ग्यास उद्योग संघको तर्फबाट आयोजित संयुक्त पत्रकार सम्मेलनमा विगतमा आधा सिलिन्डर (७.१ केजी) वितरण गरिएको र हाल पुनः पूरै सिलिन्डर (१४.२ केजी) मा जाँदा मागमा चाप बढेर केही असहजता देखिएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारेको हो । बजारको अभाव पूर्ति गर्न ग्यास बुलेटहरूको आयात बढाइएको मन्त्रालयले जनाएको छ ।
मासिक औसत ४९,५०० मेट्रिक टन आपूर्ति भइरहेकोमा आगामी ३ महिनाका लागि मासिक ६०,००० मेट्रिक टन ग्यास उपलब्ध गराउन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई अनुरोध गरिएको समेत मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सामान्य अवस्थामा दैनिक औसत १ लाख १० हजार सिलिन्डर बजारमा जाने गरेकोमा पछिल्ला दिनहरूमा दैनिक औसत १ लाख ३२ हजार सिलिन्डर बजारमा पठाइएको छ ।
ग्यासको आपूर्ति नियमित भइरहेकाले उपभोक्तालाई अनावश्यक स्टक वा होर्डिङ नगर्न र आफूलाई आवश्यक परिमाणमा मात्र लिन समेत आग्रह गरिएको मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले बताए । सरकारले आधा सिलिन्डरमा जाने कुनै सोच नबनाएको भन्दै उनले पूरा सिलिन्डर नै सहज रूपमा वितरण गर्ने गरी तयारी र व्यवस्थापन अगाडि बढाइएको स्पष्ट पारे ।
साथै मन्त्रालयले व्यवसायीहरूलाई एकल सिलिन्डर भएका, वृद्ध, अशक्त तथा सुत्केरीलाई प्राथमिकता दिएर वितरण गर्न अनुरोध गर्दै गलत मनसाय राख्नेलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।
