प्रतिनिधिसभाको बैठकमा चार मन्त्रीले प्रश्नको जवाफ दिने, राहदानी विधेयक र थारु आयोगको प्रतिवेदन पेस हुने

Share:

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । आजको बैठकमा विभिन्न चारवटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

सम्भावित कार्यसूचीअनुसार परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले संसद्मा आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको मौखिक जवाफ दिनुहुनेछ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन (२०८१ साउन-२०८२ असार) पेस गर्ने कार्यसूची रहेको छ।

यसै गरी बैठकमा परराष्ट्रमन्त्री खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुनेछ भने कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

यसैबिच, कानुनमन्त्री गौतमले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतासमेत संसद्मा पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: