गण्डकीका मुख्यमन्त्रीलाई ललितकलाकर्मीहरुले हाले मुद्दा

Share:

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानमा ललितकला क्षेत्रको मौलिक पहिचान, अस्तित्व र न्यायोचित प्रतिनिधित्वको माग गर्दै पोखराका कलाकारहरू कानुनी संघर्षमा उत्रिएका छन्।

सिर्जनाशील कलाकार समूह, नेपाल व्यावसायिक कलाकार संघ र नेपाल कमर्सियल आर्टिस्ट संघले एक वर्षअघि नै प्रदेश सरकारसमक्ष आफ्ना मागसहित ध्यानाकर्षण पत्र बुझाएका थिए।

तर, सरकारबाट लगातार बेवास्ता र उपेक्षा भएपछि बाध्य भएर अदालतको ढोका ढक्ढक्याउनु परेको प्राज्ञ नगेन सिंह ठकुरी, शिव शिर्पाली र पार्वती अधिकारीद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।

कलाकारहरूले गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई विपक्षी बनाई उच्च अदालत पोखरामा मुद्दा दर्ता गराएका हुन्।

अदालतमा दर्ता गरिएको मुद्दामा प्रतिष्ठानका शीर्ष तीन पदाधिकारीमध्ये कम्तीमा एक पदमा ललितकला क्षेत्रको सशक्त नेतृत्व हुनुपर्ने र परिषद् तथा प्राज्ञ सभाका सदस्यहरू गरी समग्र संरचनामा ललितकलाबाट कम्तीमा ६ जना स्रष्टा-प्राज्ञहरूको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मुख्य माग राखिएको छ।

हाल गठन हुने प्रज्ञा प्रतिष्ठानहरूको ढाँचाले दृश्य कला र ललितकलाको बृहत् मर्मलाई समेट्न नसकेको भन्दै कलाकारहरूले प्रदेश तथा स्थानीय तहहरूमा स्वायत्त र पृथक् ‘ललितकला प्रज्ञा प्रतिष्ठान’ स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

प्राज्ञहरू ठकुरी, शिर्पाली र अधिकारीले ललितकलाकर्मीको स्वाभिमान रक्षाका लागि सुरु गरिएको यस न्यायिक अभियानमा सम्पूर्ण कला-अनुरागी तथा संघ-संस्थालाई ऐक्यबद्धता जनाउन आह्वानसमेत गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: