गोगन माविलाई २५ लाख ५५ हजार ५५५ रुपैयाँ हस्तान्तरण

Share:

पोखरा । पोखरा महानगरपालिका-३२ मा रहेको गोगन माध्यमिक विद्यालयलाई स्वर्गीय भक्तबहादुर बस्नेत तथा उनकी धर्मपत्नी चिनुमाया बस्नेतसहित बस्नेत परिवारले २५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। विद्यालयमा आयोजित दानदाता सम्मान तथा सहयोग हस्तान्तरण कार्यक्रममा बस्नेत परिवारले उक्त रकमको चेक विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेलाई हस्तान्तरण गरेको हो।

पोखरा महानगरपालिका-३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीको अध्यक्षतामा बुधबार सम्पन्न कार्यक्रममा बस्नेत परिवारले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि सहयोग रकम हस्तान्तरण गरेको हो। उक्त रकम विसं २०६६ साल फागुन १५ देखि २२ गतेसम्म विद्यालयमा सञ्चालन गरिएको महायज्ञबाट प्राप्त दान रकमसँग सम्बन्धित रहेको जनाइएको छ। कार्यक्रममा बोल्दै स्वर्गीय भक्तबहादुर बस्नेतका नाति कृष्ण बस्नेतले विसं २०६६ मा विद्यालयमा आयोजना गरिएको महायज्ञ तथा विद्यालयको विकासमा आफ्ना हजुरबुबाले पुर्‍याएको योगदानको स्मरण गरे।

विद्यालय स्थापना भएको समयदेखि नै परिवारको शिक्षा क्षेत्रसँगको सम्बन्ध रहेको उल्लेख गर्दै उनले विद्यालयलाई ज्ञान र शिक्षाको पवित्र थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिदै स्व. हजुरवुवाको विद्यालय प्राङगणमा रहेको चौतारो नजिकै वहाँको शालिक निर्माण गरिने बताए । कृष्ण बस्नेतले विद्यालयमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप हुन नहुने धारणा राख्दै विद्यालयलाई सबैको साझा संस्था बनाउनुपर्ने बताए। शिक्षा र विद्यालयको विकासमा परिवारले विगतदेखि गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

गोगन माध्यमिक विद्यालयसँग स्वर्गीय भक्तबहादुर बस्नेतको सम्बन्ध लामो र महत्वपूर्ण रहेको विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले बताए। विसं २०२५ सालमा विद्यालय स्थापना भएदेखि नै बस्नेत परिवारको विद्यालयसँग निकट सम्बन्ध रहँदै आएको उनले उल्लेख गरे। विद्यालय व्यवस्थापनका विभिन्न जिम्मेवारीमा रहेर स्वर्गीय बस्नेतले विद्यालयको शैक्षिक तथा प्रशासनिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रधानाध्यापक न्यौपानेले बताए।

विद्यालयका लागि आवश्यक भौतिक संरचना निर्माण, विद्यार्थीका लागि अनुकूल शैक्षिक वातावरण तयार गर्ने तथा शिक्षक, अभिभावक र समुदायबीच समन्वय कायम गर्न उनले महत्वपूर्ण योगदान दिएको उनको भनाइ थियो। प्रधानाध्यापक न्यौपानेले स्वर्गीय बस्नेतको शिक्षा क्षेत्रप्रतिको समर्पण र विद्यालयप्रतिको भावनाको उच्च कदर गर्दै परिवारले विद्यालयलाई उपलब्ध गराएको सहयोग आगामी दिनमा विद्यालयको विकासका लागि महत्वपूर्ण हुने बताए।

विद्यालयका शिक्षक तथा पूर्वप्रधानाध्यापक डम्बरप्रसाद पौडेलले स्वर्गीय भक्तबहादुर बस्नेतको शिक्षा क्षेत्रसँगको सम्बन्ध लामो इतिहास बोकेको बताए। करिब १७ वर्षअघि आयोजना गरिएको महायज्ञदेखि हालसम्म विभिन्न माध्यमबाट विद्यालयलाई सहयोग गर्दै आएको बस्नेत परिवारप्रति उनले आभार व्यक्त गरे।

पौडेलले स्वर्गीय भक्तबहादुरले शिक्षा समाज परिवर्तनको प्रमुख आधार हो भन्ने मान्यतालाई आत्मसात् गरेको बताए। विसं २०२५ सालदेखि विद्यालयको विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएका उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समुदायका बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले विद्यालय सञ्चालन, व्यवस्थापन तथा पूर्वाधार विकासमा सहयोग गरेको स्मरण गरे।

कार्यक्रममा बस्नेत परिवारका धर्मपत्नी, छोरा, बुहारी, नातिनातिनीलगायत परिवारका सदस्यप्रति सम्मान व्यक्त गर्दै पौडेलले शिक्षाको विकासमा परिवारले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए। समाजसेवी गणेशबहादुर खत्रीले स्वर्गीय भक्तबहादुर बस्नेतको योगदान विद्यालयमा मात्र सीमित नरहेको बताए। सामाजिक तथा सांस्कृतिक विकासका क्षेत्रमा समेत उनको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो।

स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सामाजिक संस्था तथा समुदायका विभिन्न गतिविधिमा सहयोग गर्ने र स्थानीय आवश्यकताका काममा अग्रसर हुने उनको स्वभाव रहेको खत्रीले स्मरण गरे। शिक्षा र समाजसेवालाई समान रूपमा अघि बढाउने व्यक्तित्वका रूपमा उनले भक्तबहादुरलाई सम्झिए।

समाजसेवी प्रकाशचन्द्र पागलले पनि स्वर्गीय बस्नेतको योगदानको महत्वपूर्ण पक्ष शिक्षा र समाजसेवालाई सँगसँगै अघि बढाउने सोच रहेको बताए। विद्यालयलाई केवल पढाइ हुने स्थानका रूपमा नभई समुदायको विकासको केन्द्रका रूपमा विकास गर्नुपर्ने उनको धारणा रहेको उनले उल्लेख गरे।

विद्यालय र स्थानीय समुदायबीच सहकार्य बढाउन स्वर्गीय बस्नेतले निरन्तर पहल गरेको स्मरण गर्दै पागलले उनको योगदानबाट अहिलेको पुस्ताले समेत प्रेरणा लिनुपर्ने बताए। समाजसेवी शंकरबहादुर केसीले स्वर्गीय भक्तबहादुर बस्नेत विद्यार्थीको भविष्यप्रति संवेदनशील रहने व्यक्तित्व भएको बताए। आर्थिक तथा सामाजिक कारणले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने भावनाका साथ उनले विद्यार्थीलाई अध्ययनका लागि प्रोत्साहित गर्ने र विद्यालयलाई आवश्यक सहयोग जुटाउने कार्यमा भूमिका खेलेको केसीले स्मरण गरे।

विद्यालयलाई आवश्यकता पर्दा व्यक्तिगत रूपमा समेत सहयोग गर्न उनी पछि नहट्ने गरेको उल्लेख गर्दै केसीले उनको सहयोगी भावना र सामाजिक सेवाप्रतिको प्रतिबद्धताको प्रशंसा गरे। समाजसेवी खेमराज अधिकारीले विद्यालयको विकासका लागि आयोजना गरिने महायज्ञलाई समाज विकास र सामाजिक सभ्यतासँग जोडेर हेर्नुपर्ने बताए। विद्यालयको विकासका लागि समुदायको सहभागिता र सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले महायज्ञबाट संकलित रकम सही उद्देश्यमा प्रयोग हुनु महत्वपूर्ण हुने बताए।

लेखनाथ क्षेत्रमा शिक्षा र सामाजिक विकासका लागि स्वर्गीय भक्तबहादुरले पुर्‍याएको योगदानलाई स्मरण गर्दै अधिकारीले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समेत उनको सहभागिता रहेको बताए। यस्ता गतिविधिले स्थानीय पहिचान, सामाजिक एकता र सामुदायिक भावना बलियो बनाउन सहयोग पुगेको उनको भनाइ थियो। वडा शिक्षा समितिका संयोजक नगेन्द्रप्रसाद रेग्मीले स्वर्गीय भक्तबहादुर बस्नेत लामो समयदेखि समुदायमा सक्रिय रहँदै विभिन्न सामाजिक संस्थासँग सहकार्य गर्ने व्यक्तित्व भएको बताए।

सामुदायिक हितका काममा व्यक्तिगत लाभभन्दा सेवाभावलाई प्राथमिकता दिने उनको कार्यशैलीका कारण उनी स्थानीयस्तरमा सम्मानित रहेको रेग्मीले बताए। सहकर्मी तथा स्थानीयवासीहरूले उनको सरलता, इमानदारी र सहयोगी स्वभावलाई सधैँ सम्मानपूर्वक स्मरण गर्ने गरेको उनको भनाइ थियो।

पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर बस्नेतले विद्यालय व्यवस्थापनमा लामो समयसम्म संलग्न रहँदा स्वर्गीय भक्तबहादुरले विद्यालयलाई समुदायसँग जोड्ने प्रयास गरेको बताए। अभिभावक, शिक्षक, विद्यार्थी र स्थानीयवासीबीच सहकार्य भए मात्र विद्यालयको समग्र विकास सम्भव हुने मान्यताका साथ उनले विभिन्न कार्यक्रम तथा गतिविधिमा समुदायको सहभागिता बढाउन जोड दिएको खड्कबहादुरले स्मरण गरे।

विद्यालयमा विद्यार्थीको संख्या बढ्दै जाँदा आवश्यक भौतिक संरचना निर्माण तथा गुणस्तरीय शैक्षिक वातावरण तयार गर्नु चुनौतीपूर्ण हुने गरेको भन्दै उनले विद्यालयको विकासका लागि दीर्घकालीन योजना र समुदायको निरन्तर सहयोग आवश्यक रहेको बताए। शिक्षा क्षेत्रमा गरेको योगदानसँगै सामाजिक सेवामा देखाएको सक्रियताका कारण स्वर्गीय भक्तबहादुर बस्नेत स्थानीय समुदायमा प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित भएको कार्यक्रममा सहभागी वक्ताहरूले बताएका छन्।

उनको जीवन शिक्षा, समाजसेवा र सामुदायिक विकासप्रतिको निरन्तर समर्पणको उदाहरण भएको वक्ताहरूको भनाइ थियो। व्यक्तिगत सुविधा र स्वार्थभन्दा समुदायको हितलाई प्राथमिकता दिँदै विद्यालय तथा सामाजिक क्षेत्रमा उनले पुर्‍याएको योगदानले स्थानीय समाजमा सकारात्मक प्रभाव पारेको उनीहरूले बताए।

विद्यालयको विकासमा दान तथा सहयोग गर्ने दाताहरूको सम्मान गर्नुपर्ने र उनीहरूको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउनुपर्नेमा पनि कार्यक्रममा जोड दिइएको थियो। विद्यालयको शैक्षिक उन्नति, भौतिक पूर्वाधार निर्माण तथा विद्यार्थीको भविष्य निर्माणका लागि समुदाय, अभिभावक र दाताबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले बताए।

बस्नेत परिवारबाट हस्तान्तरण गरिएको २५ लाख ५५ हजार ५५५ रुपौयाँ रकमले गोगन माध्यमिक विद्यालयको आगामी शैक्षिक तथा भौतिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्वर्गीय भक्तबहादुर बस्नेतको शिक्षा र समाजसेवाप्रतिको समर्पणलाई विद्यालयले आगामी दिनमा समेत सम्मानपूर्वक स्मरण गर्दै उनको योगदानलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। भने कार्यक्रमको संचालन विद्यालयकी सहायक प्र.अ. चन्द्रामाया थापाले गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: