
पोखरा । नेपाल-चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशी र त्रिशूली नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति होटल संघ पोखरा नेपालले गहिरो दुःख र स्तब्धता प्रकट गरेको छ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीद्वारा जारी विज्ञप्तिमा बाढीका कारण सयौँ मानिसको ज्यान गएको, हजारौँ वेपत्ता भएको र खर्बौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमानप्रति गम्भीर ध्यानाकर्षण गराउँदै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ।
संघले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उचित उद्धार र समयमै उपचार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ।
बाढीमा अझै पनि हजारौँ नागरिक तथा स्वदेशी र विदेशी पर्यटकहरू बेपत्ता भएको खबर आइरहेकाले उनीहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन र पीडितहरूको उचित पुनस्र्थापना एवं क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारको ध्यान जानुपर्नेमा संघले जोड दिएको छ।
साथै, विपद्को यस कठिन घडीमा नेपाल सरकारले आह्वान गरेअनुसार प्रधानमन्त्री राहत कोषको QR Code मार्फत सक्दो सहयोग पुर्याउन होटल संघ पोखराले सम्पूर्ण सर्वसाधारण तथा व्यवसायीहरूमा हार्दिक अपिल गरेको छ।
प्राकृतिक विपद्को जोखिम अझै कायम रहन सक्ने भएकाले सूचनाको समयमै आदानप्रदान गर्न र उच्च सतर्कता अपनाउन आग्रह गर्दै संघले राहत र पुनरुत्थानसँगै प्रभावित क्षेत्रको पुनःनिर्माण कार्यलाई पनि तत्काल अघि बढाउन सरकारसँग अनुरोध गरेको छ।
