
पोखरा। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण देश शोकमग्न बनेको भन्दै पोखराको पुराना टुँडिखेलमा सञ्चालन हुने तय भएको ‘ऐतिहासिक टुँडिखेल तीज महोत्सव-२०८३’ स्थगित गरिएको छ।
इन्द्रेणी एकीकृत विकास केन्द्र, पोखरा-१ को आयोजनामा आगामी भदौ २५ देखि ३१ गतेसम्म सञ्चालन गर्ने तय भएको सो महोत्सव यस वर्षका लागि रोकिएको आयोजकले जनाएको छ।
अघिल्लो साता आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएकाले संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै शनिबार बसेको केन्द्रको समीक्षा बैठकले महोत्सव स्थगित गर्ने निर्णय गरेको अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए।
“हामीले मौलिक संस्कृति संरक्षणका लागि प्रत्येक वर्ष महोत्सव गर्दै आएका थियौँ, तर देश नै दुःखद स्थितिमा रहेका बेला उत्सवमय कार्यक्रम गर्नु उपयुक्त नहुने निष्कर्षमा पुगेका हौँ,“ अध्यक्ष अधिकारीले भने।
केन्द्रले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
साथै, बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि केन्द्र, कार्यसमिति र सदस्यहरूबाट संकलित १ लाख रुपैयाँ ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ मा जम्मा गर्ने निर्णय गरिएको सचिव दुर्गा अधिकारीले बताए।
