पुस्तकालय दिवसका अवसरमा दीपशिखाको निबन्ध प्रतियोगिता

Share:

पोखरा । हरेक वर्ष भदौ १५मा मनाइने पुस्तकालय दिवसको अवसर पारेर पोखरा महानगरपालिका वडा नं २९ मा अवस्थित दीपशिखा सामुदायिक पुस्तकालयले आइतवार पुस्तकालयको महत्व शीर्षकमा मावि (९/१२) स्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।

लेखनाथ क्षेत्रका १२ विभिन्न विद्यालयका २३ प्रतिस्पर्धीलाई पछि पार्दै पोखरा महानगरपालिका वडा नं ३० मा रहेको त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालयका टङ्कप्रसाद चर्माले प्रथम स्थान हाँसिल गरे । १ घण्टा लेखन समय उपलब्ध गराइएको प्रतियोगितामा पोखरा २७ मा रहेको लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलकी अर्माली पौडेलले द्धितीय स्थान तथा नेपाल आदर्श आवासीय मा वि पोखरा २९की एञ्जल यादवले तृतीय स्थान हाँसिल गरे ।

यसैगरी शिसुवाचोकमा रहेको न्यू लाइट माविकी अनुष्का ढुङ्गाना र रामज्योति मावि पोखरा २६की तिर्थु बुढामगरले चतुर्थ स्थान हाँसिल गर्न सफल भएका थिए । प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले पठन संस्कृतिको जगेर्नाका लागि दीपशिखा पुस्तकालयको योगदान महत्वपूर्ण भएको बताइन् ।

१९ औं पुस्तकालय दिवसका कार्यक्रमहरुले पुस्तक पढ्ने बानीको विकास गराउने छन् भन्ने विश्वास आफूले लिएको उनले बताइन् । कार्यक्रममा राष्ट्रिय समाचार समिति बागमती प्रदेश कार्यालय प्रमुख बासुदेव पौडेलले सामाजिक सचेतनासँगै जागरणको सेतु र सिकाइकेन्द्रका रुपमा दीपशिखा पुस्तकालयले भूमिका खेलेको बताए ।

बेदान्ताचार्य चतुर्भुज शर्मा पौडेल,पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य निर्मला पौडेल,सामुदायिक पुस्तकालय संघ गण्डकीका अध्यक्ष एवम् दीपशिखाका कोषाध्यक्ष माधव भण्डारी, सचिव पदमप्रसाद अधिकारी,सहसचिव मिनकुमारी डल्लाकोटी,कार्यालय प्रमुख धनु पहारी, सदस्यहरु कमला भण्डारी, चन्द्रबहादुर गुरुङ, विश्वराज पौडेल लगायतले धारणा राखेका थिए ।

कार्यक्रम संयोजक विष्णुुहरि पौडेलले सञ्चालन गरेको कार्यक्रम पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले धन्यवाद सहित समापन गरे । पोखरा विश्वविद्यालयका उपप्राध्यापक सञ्जीव पौडेल र पुस्तकालय कार्यसमिति सदस्य सावित्री भण्डारी निर्णयक रहेका थिए । उक्त अवसरमा बेदान्ताचार्य चतुर्भुज शर्मा पौडेलले आफ्नो चौरासी पूजाका अवसरमा प्रकासित विचार दीपक नामक अनुवाद कृति पुस्तकालयका लागि प्रदान गरे ।

कमेन्ट गर्नुहोस्
Share: