पोखरा-दुबई उडान प्रवर्द्धन गर्न पोखरा महानगर र फ्लाई दुबईबीच सहकार्यको सम्झौता

Share:

पोखरा । पोखरा महानगरपालिका र फ्लाई दुबईबिच पोखरा-दुबई उडानको प्रवर्द्धनका निम्ति सहकार्यको सम्झौता भएको छ। आउँदो असोज ७ देखि दुबईबाट पोखरा उडान भर्दैछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित नभएको तथा भोटेकोसी बाढीका कारण नेपालकै पर्यटन उद्योग संकटतर्फ उन्मुख रहेको बेला हुने यो उडानले पर्यटनलाई पुनर्जीवन दिने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन्।

पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनोहर कडरिया तथा फ्लाइ दुबईको तर्फबाट प्रतिनिधित्व गर्दै युनिभर्सल टुर्स एण्ड ट्राभल्सका परासर प्रसाईबीच भएको सम्झौतापत्रमा पोखरा महानगरपालिकाले उपलब्ध सार्वजनिक तथा प्रचारप्रसारका स्थानहरूमा १५ दिनसम्म निःशुल्क प्रचार स्थान उपलब्ध गराउने तथा महानगरपालिकाका आधिकारिक डिजिटल प्लेटफर्म, सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत् पोखरा-दुबई उडानको प्रवर्द्धनमा सहयोग गर्नेछ भने फ्लाई दुबईले प्रचार सामग्रीको डिजाइन, उत्पादन, छपाइ, ढुवानी, जडान तथा हटाउने जिम्मेवारी लिनेछ।

‘२३ सेप्टेम्बर २०२६ देखि सुरु हुने पोखरा-दुबई नियमित हवाई सेवाले पोखरालाई विश्वका विभिन्न गन्तव्यसँग थप सहजरूपमा जोड्नेछ,’ सम्झौताबारे जानकारी दिँदै मेयर आचार्यले भनेका छन्, ‘यसबाट पोखराको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय आवागमन, व्यापार तथा आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिएको छु। पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्रभावकारीरूपमा सञ्चालन गर्दै अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग जोड्ने हाम्रो निरन्तर प्रयासमा यो सहकार्य महत्त्वपूर्ण उपलब्धि हो।’

कमेन्ट गर्नुहोस्
Share: