प्रस्याङको सन्तानेश्वरमा महायज्ञ सुरु, पहिलो दिनमै ७७ लाख संकलन

Share:

पोखरा। पोखरा महानगरपालिका-५ प्रस्याङस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ।

प्राकृतिक विपत्तिमा ज्यान गुमाएका, घाइते तथा बेपत्ता भएकाहरूको सम्झना र विश्व शान्तिको कामनासहित श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आयोजना गरिएको यो महायज्ञ भदौ २५ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञ सुरु हुनुअघि भव्य कलश यात्रासहित शान्ति पदयात्रा समेत आयोजना गरिएको थियो।

महायज्ञको पहिलो दिनमै ७७ लाख रुपैयाँ संकलन भएको प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले जानकारी दिए।उनले सन्तानेश्वर महादेव मन्दिरलाई कलात्मक र आकर्षक स्वरूपमा निर्माण गर्ने अठोट व्यक्त गर्दै महायज्ञबाट संकलित केही रकम बाढी पीडित राहत कोषमा जम्मा गरिने बताए।

महायज्ञको उद्घाटन गर्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. भरतबहादुर खत्रीले धार्मिक तथा सामाजिक कार्यमा गरिने दानबाट कहिल्यै हानी नहुने र त्यसको फल भविष्यमा प्राप्त हुने धारणा राखे।

त्यस्तै पोखरा-५ का वडाध्यक्ष एवं महायज्ञका प्रमुख संरक्षक विष्णुप्रसाद बरालले देश शोकमा रहेका बेला मन्दिर निर्माणका साथै शान्तिको कामनाका लागि महायज्ञ आयोजना गरिएको भन्दै यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय लभ्लीहिलकी प्रमुख सुधा दिदी, अग्रज समाजसेवी हेरम्बप्रसाद कोइराला, संस्थापक परिवारका सदस्य सुरेशचन्द्र कोइराला, प्रमुख वाचक पण्डित दीपकप्रसाद पौडेल, अर्थ समिति संयोजक केशव अधिकारी, प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिकी उपाध्यक्ष विजयलक्ष्मी कोइराला र सचिव लक्ष्मण कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए।

प्रचारप्रसार समिति संयोजक लक्ष्मण बरालका अनुसार धार्मिक आस्था, सामाजिक एकता र सामुदायिक सहभागिताको उत्सवका रूपमा अघि बढाइएको यस महायज्ञमा विभिन्न देवलिला, संगीतमय श्रीमद्भागवत कथा प्रवचन तथा धार्मिक कार्यक्रम सञ्चालन हुनेछन्।

सन्तानेश्वर महादेव मन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिङ्गसहितको विशाल शिवालयका रूपमा निर्माण गरी प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

मन्दिर निर्माणका लागि प्राप्त सहयोग पारदर्शी रूपमा सार्वजनिक गरिने र दाताहरूलाई योगदानअनुसार सम्मान गरिने आयोजकले जनाएको छ।

करिब ९२ वर्षअघि स्थानीय लिलाधर कोइरालाले स्थापना गरेको यस मन्दिरको गर्भगृहमा रहेको एउटै शिलाका तीन भागलाई सन्तानेश्वर महादेव, माता पार्वती र गणेशका रूपमा पूजा गर्ने परम्परा छ।

सन्तानेश्वर महादेवलाई सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजने धार्मिक विश्वास रहिआएको छ।

कमेन्ट गर्नुहोस्
Share: