
पोखरा । नेपाल जुनियर रेडक्रस सर्कल, त्रिभुवन शान्ति माध्यमिक विद्यालय, कास्कीले भोटेकोसी नदीको बाढीबाट प्रभावित पीडितहरूका लागि २५ हजार ३५५ सहयोग प्रदान गरेको छ ।
विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आईएमई बैंक लिमिटेडको खाता नम्बर ००४०१०१०००००५७ मा जम्मा गरिएको विद्यालयले जनाएको छ ।
सर्कलका अध्यक्ष सुदीक्षा सुवेदी, उपाध्यक्ष प्रयाग न्यौपाने, सचिव अग्रिम कडेल, कोषाध्यक्ष कुसुम न्यौपाने तथा सदस्य समीक्षा तिवारीको नेतृत्वमा सहयोग संकलन कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा सर्कलका कार्यसमिति सदस्यहरू, सहायक शिक्षक नायक प्रतिमा अधिकारी, निर्मला सापकोटा तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो ।
राहत संकलन अभियानमा विद्यार्थीहरूले आफ्नो खाजाका लागि छुट्याएको रकमसमेत स्वेच्छाले सहयोग गरेको शिक्षक नायक सकुन्तला सोतीले बताइन् ।
विद्यालयकी प्रधानाध्यापक सोमत कुमारी लामिछानेले सारा देश नै विपत्तिमा परेको अवस्थामा बाढीबाट पीडित नागरिकहरूको पीडा पूर्ण रूपमा कम गर्न नसके पनि घाउमा मलम लगाउने उद्देश्यले सानो रकम भए पनि संकलन गरी कोषमा जम्मा गरिएको बताए ।
उनले यस्ता सहयोगी अभियानले विद्यार्थीहरूमा सहयोग, सहानुभूति र मानवीयताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

