
काठमाडौं । दक्षिण-पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन-नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बढीका कारण शुक्रबार साँझ ६ बजेसम्म ३१ जनाको मृत्यु भएको पुष्टि स्थानीय विपत् व्यवस्थापन तथा उद्धार केन्द्रले गरेको छ।
कमान्ड सेन्टरका अनुसार हिमपहिरोपछि नदीमा आएको बाढीमा ५३१ जना बेपत्ता छन्। उद्धारकर्मीहरूले उक्त क्षेत्रबाट ९८७ वटा व्यक्तिगत सामान भेट्टाएको बताएका छन्। बुधबारसम्म जी-२१६ उद्धार मार्गमा निरीक्षण गर्दा ५८ वटा सम्भावित भूगर्भीय विपत्का स्थल पहिचान भएका केन्द्रका अधिकारीहरूले बताएका छन्। अधिकारीहरूले प्रभावित तीन गाउँका सम्भावित जोखिमहरूको निरीक्षण र जोखिम मूल्याङ्कन पनि पूरा गरेका छन् भने यसका लागि दुई अस्थायी आपतकालीन आश्रयस्थलका लागि स्थान चयन गरेका छन्।
उनीहरूले त्यहाँका लागि आपतकालीन आपूर्ति सेवा व्यवस्थापनका लागि मार्गदर्शनसमेत गरेका छन्। सम्भावित द्वितीयक विपत्का जोखिम पहिचान र रोकथामका लागि मौसम, प्राकृतिक स्रोत, जलस्रोत र आपतकालीन व्यवस्थापन अधिकारीहरूका साथै चाइनिज साइन्स एकेडेमी र चीन सुरक्षा विज्ञान तथा प्रविधि एकेडेमीका १७२ विज्ञ र प्राविधिक जनशक्ति बुधबार दिउँसो ४ बजेसम्म उक्त स्थलमा खटिएका छन्। हिमाली षेत्रमा बरफ-चट्टान पहिरोका कारण आएको यो विनाशकारी पहिरोले गिरोङ बन्दरगाह भएर बग्दै भवनहरू, विद्युत् आपूर्ति र गिरोङ बन्दरगाहतर्फ जाने जी२१६ राजमार्गको एक खण्ड नष्ट गरेको थियो, जसका कारण विपत् व्यवस्थापन र उद्धारमा गम्भीर रूपमा बाधा भएको थियो।
यस्ता कठिनाइका बाबजुद चीनले तुरुन्तै हेलिकप्टर, स्पिडबोट र रबरको डुङ्गा परिचालन गरी उद्धारकर्मीहरूलाई पहिरो प्रभावित बन्दरगाहमा पुर्याएको छ। स्थलगत उद्धार टोलीले १२ घण्टा ठाडो पहाडी सडक पार गर्दै पैदल उक्त क्षेत्रमा पुगेका थिए। उक्त क्षेत्रमा करिब दुई हजार ३०० उद्धारकर्मी, ४०० भन्दा बढी खोज तथा उद्धार सवारीसाधन, आठ हजारभन्दा बढी व्यावसायिक उपकरणका सेट, ८०० भन्दा बढी ड्रोन उडान र २४ हेलिकोप्टर उडान परिचालन गरिएका छन्।
