
पोखरा । पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा डुबेका उदयपुर घर भएका २१ वर्षीय आयुष तामाङको सशस्त्र प्रहरीको विपद् उद्धार (गोताखोर) टोलीले उद्धार गरेको छ।
कास्कीको पोखरा महानगरपालिका-६ स्थित तालबाराही मन्दिर पछाडि फेवातालमा घुम्न आएका तामाङ कायकिङ गर्ने क्रममा डुबेको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हे.क्वा. कालिका फेवा रेस्क्यु टावरबाट टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी सहायक निरीक्षक राम प्रसाद शर्माको कमाण्डमा आवश्यक उद्धार सामग्रीसहित खटिएको गोताखोर टोलीले खोजतलास गर्ने क्रममा दिउँसो २ः५० बजे तामाङलाई तालको अन्दाजी ३० फिट गहिराइबाट अचेत अवस्थामा फेला पारी बाहिर निकालेको थियो।
उद्धार लगत्तै उनलाई थप उपचारका लागि दिउँसो २ः५५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिम क्षेत्रीय अस्पताल) पठाइएको सशस्त्र प्रहरी नं. २४ गण हे.क्वा कालिकाले जनाएको छ।
