पोखराको सन्तानेश्वर महायज्ञमा चार दिनमै सवा करोडभन्दा बढी सङ्कलन

Share:

पोखरा । पोखरा महानगरपालिका-५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणको उद्देश्यले आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा चार दिनमै १ करोड २५ लाख ५० हजार रुपैयाँ दान सङ्कलन भएको छ।

अर्थ समिति संयोजक केशवप्रसाद अधिकारीका अनुसार दोस्रो दिनसम्म ८५ लाख र तेस्रो दिन २० लाख रुपैयाँ सङ्कलन भएकोमा चौथो दिन शनिबार मात्रै थप २० लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको हो।

पण्डित दीपकप्रसाद पौडेलले भागवत कथा वाचन गरिरहनुभएको उक्त महायज्ञ भदौ २५ गतेसम्म सञ्चालन हुने प्रचारप्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिए ।

सङ्कलित रकमबाट मन्दिरलाई चार ढोका र पञ्चमुखी शिवलिङ्गसहितको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा पुनर्निर्माण गरिनुका साथै केही रकम बाढीपीडित राहत कोषमा समेत जम्मा गरिनेछ।

सन्तान प्राप्तिको वरदान दिने देवताका रूपमा पूजा गरिने यो मन्दिर स्थानीय लिलाधर कोइरालाले करिब ९२ वर्षअघि स्थापना गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
Share: