
काठमाडौं । त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएपछि रसुवा जिल्लामा यातायात पहुँच निरन्तर राख्न नयाँ वैकल्पिक सडक मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।
ढिकुरे–फेदीबेसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा–पाटिखर्क–भोर्ले–जिबजिबे–बोगटीटार–कालिकास्थान हुँदै धुन्चे जोड्ने सडकखण्डका विभिन्न स्थानमा मर्मत तथा सुधार कार्य सम्पन्न गरिएको छ ।
बोरे भञ्ज्याङदेखि पाटिखर्क खण्डमा एक्साभेटर, ब्याकहो लोडर र टिपरको प्रयोग गरी पहिरो पन्छाउने, सडक चौडा गर्ने, नाली निर्माण तथा ग्राभेल गर्ने काम सकिएपछि उक्त मार्गमा अहिले ठूला सवारी साधनसमेत दुईतर्फी रूपमा चल्न सक्ने अवस्था बनेको छ ।
यसअघि काठमाडौंबाट टोखा, छहरे, चौघडा, बाहुनबेसी, नर्जा, लच्याङ र सरमथली हुँदै पाटिखर्क–धुन्चे जोड्ने मार्गबाट ४ चक्के साना सवारी साधन मात्र सञ्चालन हुँदै आएका थिए ।
अब पाटिखर्कसम्म पुग्न दुई वटा वैकल्पिक मार्ग उपलब्ध भएपछि सवारी आवागमनलाई थप व्यवस्थित बनाउन एकतर्फी प्रणाली लागू गरिएको छ ।
जसअनुसार रसुवातर्फ जानका लागि फेदीबेसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ हुँदै पाटिखर्कको बाटो र फर्किनका लागि पाटिखर्क–लच्याङ–नर्जा–बाहुनबेसी हुँदै मध्यपहाडी राजमार्गको बाटो प्रयोग गर्नुपर्नेछ ।
एउटा सडकबाट जाने र अर्को सडकबाट फर्किने यो नयाँ व्यवस्थाले सम्भावित सवारी जाम कम गरी यात्रालाई सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ ।
