
पोखरा । भोटेकोशी-त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा विपद् व्यवस्थापनका लागि पोखरा–८, सृजनाचोकस्थित सृजना सेकेण्डरी स्कूलले ५ लाख ५४ हजार रुपैयाँ राहत रकम संकलन गरेको छ ।
गत भदौ १० गतेको बाढीपीडितको सहयोगार्थ विद्यालय परिवार (विद्यार्थी, शिक्षक, कर्मचारी र प्रशासन) को संयुक्त योगदानबाट उक्त रकम जुटाइएको हो ।
संकलित रकममध्ये विद्यार्थीहरूबाट १ लाख ८७ हजार ९८२, शिक्षक तथा कर्मचारीबाट १ लाख ५५ हजार ४९३ र विद्यालय प्रशासनका तर्फबाट २ लाख १० हजार ५२५ योगदान भएको छ ।
सो रकममध्ये ३ लाख २० हजार हिसान कास्की र २ लाख २० हजार प्याब्सन कास्कीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ भने बाँकी रु १४ हजार नेपाल रेडक्रस सोसाइटी कास्की शाखामार्फत पीडितसम्म पुर्याइने विद्यालयले जनाएको छ ।
यसैबीच, बाढीको १३ औँ दिन (भदौ २२ गते) विद्यालय प्राङ्गणमा विशेष कार्यक्रम आयोजना गरी मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। सो अवसरमा बेपत्ताको सकुशल उद्धार र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरियो ।
विद्यालयका प्राचार्य डोलराज पाण्डेले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु मानवीय कर्तव्य भएको बताउँदै सहयोग पुर्याउने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीप्रति आभार व्यक्त गरे ।
