पोखरा उद्योग वाणिज्य संघको उपाध्यक्षमा सौगात थापा निर्वाचित

Share:

पोखरा । पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्षमा सौगात थापा निर्वाचित भएका छन् । उनले १ हजार २ सय ७१ मत प्राप्त गरेर उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी ललित बहादुर कुँवरले ९ सय ७३ मत प्राप्त गरेका थिए । निर्वाचित भएपछि थापाले उद्योग तथा व्यवसाय क्षेत्रमा युवाको सक्रिय सहभागिता बढाउँदै नयाँ पुस्तालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यसहित काम गर्ने बताए ।

उनले नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने, उद्यमीका समस्या समाधानका लागि पहल गर्ने तथा पोखराको उद्योग-व्यवसाय क्षेत्रलाई थप गतिशील र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

थापाले युवालाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने उद्यमीसँग जोड्न आवश्यक रहेको बताउँदै नवउद्यम र नयाँ व्यवसायलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा आफ्नो प्राथमिकता रहने बताएका छन्। ’युवालाई उद्यमसँग जोड्दै, नयाँ व्यवसायलाई प्रोत्साहन गर्दै र पोखराको उद्योग व्यवसायलाई अझ गतिशील बनाउनेछु,’ थापाले भने।

उनले संघलाई उद्योगी-व्यवसायीको साझा आवाजका रूपमा थप प्रभावकारी बनाउँदै व्यवसाय सञ्चालनका क्रममा देखिएका नीतिगत तथा व्यावहारिक समस्याको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताए ।

थापा गत निर्वाचनमा व्यवसायी थापा पोखरा उद्योग वाणिज्य संघको खुला कार्यसमिति सदस्यमा निर्वाचित भइसकेका छन् । उनले २०८१ भदौमा भएको निर्वाचनमा पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा अत्यधिक मत ल्याएर निर्वाचित भएका थिए ।

पोखरा उद्योग वाणिज्य संघको ३६ औं अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी छन् । गौतमले निर्वाचनमा अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पछाडि पार्दै विजयी भइन् ।

गौतमले ७ सय ५१, पोखरेलले ६ सय ३७, बुद्धाचार्यले ६ सय १ र आचार्यले २ सय ५३ मत प्राप्त गरे । पोखरा उद्योग वाणिज्य संघको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिलाले नेतृत्व पाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: