
पोखरा । पोखरा महानगरपालिका-५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा हालसम्म २ करोड ५३ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको आठौँ दिन बुधबार मात्रै ४० लाख ७४ हजार रुपैयाँ संकलन भएको आयोजकले जनाएको छ।
प्रचारप्रसार संयोजक लक्ष्मण बरालका अनुसार धार्मिक अनुष्ठानसँगै सामाजिक अभियानका रूपमा अघि बढेको यस महायज्ञ बिहीबार दिउँसो ३ बजे समापन गर्ने तयारी गरिएको छ। महायज्ञमा तालबाराही आरती सेवा समितिले आरती प्रस्तुत गर्नुका साथै लाखबत्ती र लक्ष्यदीप प्रज्वलनसमेत गरिएको थियो।
पोखरा-५ का विभिन्न टोल विकास संस्था, आमा समूह तथा स्थानीय समुदायका साथै छिमेकी वडाबाट समेत श्रद्धालु तथा दानवीरहरूको उत्साहजनक सहभागिता रहेको छ।
महायज्ञबाट संकलित रकमको केही हिस्सा हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगमा खर्च गरिने प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समितिका अध्यक्ष शिव पराजुलीले जानकारी दिए।
पण्डित दीपकप्रसाद पौडेलले कथा वाचन गरिरहेको उक्त महायज्ञमा भक्तजनहरू कथा श्रवणसँगै भजन-कीर्तन, देवलिला तथा विभिन्न धार्मिक कार्यक्रममा उत्साहपूर्वक सहभागी भइरहेका छन्।
महायज्ञबाट संकलित रकमबाट चार ढोका र पञ्चमुखी शिवलिङ्गसहितको आकर्षक शिवालय निर्माण गरी मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
पुनःनिर्मित मन्दिर आगामी महाशिवरात्रिमा उद्घाटन गर्ने तयारी छ। करिब ९२ वर्षअघि स्थानीय लीलाधर कोइरालाले स्थापना गरेको सन्तानेश्वर महादेवलाई सन्तान प्राप्ति तथा कल्याणको वरदान दिने देवताका रूपमा पूजा गर्ने धार्मिक विश्वास रहिआएको छ।
