यी प्रदेशमा भयो भारी वर्षा

Share:

काठमाडौं । हाल कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मौसम महाशाखाले आज (शुक्रबार) बिहान ६:०६ बजे सार्वजनिक गरेको विवरणअनुसार गएराति (पछिल्लो १२ घण्टामा) कोसी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा भएको छ।

यस अवधिमा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, मधेस र कर्णाली प्रदेशका केही स्थान साथै सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्म वर्षा भएको छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ। एक/दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक/दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो। अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ। अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

कमेन्ट गर्नुहोस्
Share: