पोबसको २७औँ वार्षिक साधारणसभा, १८ करोड कर्जा असुली गरी १५ करोड बचत फिर्ता

Share:

पोखरा । पोखरा-९, नयाँबजार स्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारणसभा अध्यक्ष ई. सुरेन्द्रबहादुर गोदारको सभापतित्वमा सम्पन्न भएको छ।

साधारणसभाले अध्यक्ष गोदार र कोषाध्यक्ष हिरामणी दाहालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

कार्यक्रममा सहकारी बचत पीडित संघ कास्कीका अध्यक्ष एवम् संस्थाका सर्वपक्षीय विशेष समितिका सल्लाहकार किरण श्रेष्ठले बचतकर्ताहरू आफ्नो बचत सुरक्षाका लागि आफैँ सजग हुनुपर्ने बताए ।

सञ्चालकहरूलाई कानूनी कारवाहीमा लगेर मात्र बचत फिर्ता हुन नसक्ने विगतको अनुभवले देखाएको उल्लेख गर्दै उहाँले समझदारीमा जोड दिए ।

विशेष समितिका संयोजक गञ्जमान गुरुङले बचतकर्ताको हित संरक्षणका लागि वर्तमान सञ्चालक समितिसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
समितिका सदस्य विनोद शर्मा न्यौपानेले विगत नौ महिनामा झण्डै १८ करोड रुपैयाँ कर्जा असुली गरी १५ करोड रुपैयाँ बचत फिर्ता गर्न संस्था सफल भएको जानकारी दिए ।

पूर्व अध्यक्ष आश बहादुर गुरुङले कमीकमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए भने उपाध्यक्ष शम्भुराज बास्तोलाले स्वागत मन्तव्य र पूर्व अध्यक्ष फणिन्द्रराज शर्माले संक्षिप्त मन्तव्य व्यक्त गरेका थिए ।

शेयरसदस्य क्याप्टेन बल बहादुर तिलिजालले वित्तीय आँकडा सुध्रिँदै गएकाले बचतकर्ताहरू आत्तिनुपर्ने अवस्था नरहेको धारणा राखे ।

संस्थाका सचिव दिल बहादुर के.सी.ले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष ई. सुरेन्द्रबहादुर गोदारले संस्थालाई पूर्ववत् अवस्थामा फर्काउन समिति निरन्तर लागिपरेको बताउँदै सम्पूर्ण बचतकर्ताको रकम फिर्ता गर्न कटिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे ।

हाल गञ्जमान गुरुङ संयोजक रहेको सर्वपक्षीय विशेष समितिको रोहवरमा संस्थाको कारोबार भइरहेको छ, जसअन्तर्गत एक लाख रुपैयाँसम्म बचत रहेका सदस्यहरूको पूरै रकम फिर्ता गरिसकिएको छ भने बाँकीलाई चरणबद्ध रूपमा फिर्ता गर्ने योजना छ।

२०५९ वैशाख १२ गते स्थापित यस सहकारीमा ६८२ शेयरसदस्य, ९ करोड ५३ लाख रुपैयाँ शेयरपूँजी, २६ करोड ९२ लाख रुपैयाँ निक्षेप र ३६ करोड २७ लाख रुपैयाँ कर्जा लगानी रहेको छ ।

कोषाध्यक्ष हिरामणी दाहालका अनुसार गत आव ०८२/०८३ मा संस्थाले ६ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: