पेट्रोलियम पदार्थको भाउ बढेर आए पनि यथावत्

Share:

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले उपभोक्ताका लागि खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

भोटेकोसी बाढीका कारण उत्पन्न कठिन परिस्थिति विचार गरी निगम सञ्चालक समितिले साबिककै मूल्य कायम राख्ने निर्णय गरेको हो। यो निर्णय आज भदौ ३१ देखि लागु भएको छ।

अन्तर्राष्ट्रिय बजारमा मध्यपूर्वमा जारी युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको छ।

यही क्रममा भदौ ३० गते आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको थियो।

तर निगमले बढेको खरिद मूल्यअनुसार तत्काल बिक्री मूल्य समायोजन नगर्ने निर्णय गरेको हो। जसअनुसार पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल छन्।

यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ कायम गरिएको छ। काठमाडौँतर्फको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर १ हजार ६९७ अमेरिकी डलर निर्धारण गरिएको छ।

निगमले १४.२ किलोग्रामको एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै कायम राखेको छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेका बेला बिक्री मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

 

कमेन्ट गर्नुहोस्
Share: