
पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले कुमुदिनी होम्स माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई व्यवहारिक र सांस्कृतिक रूपमा सबल बनाउन सुरु गरेका नयाँ अभ्यासहरूको प्रशंसा गरेका छन् । शनिबार विद्यालयमा आयोजित कार्निभल कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै सदस्य सचिव श्रेष्ठले यस्ता कार्यक्रमले नयाँ पुस्तामा संस्कृति हस्तान्तरण र आत्मनिर्भरताको भावना विकास गराउन महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
उनले नेपाल विविध जाति, भाषा र संस्कृतिको धनी देश भएको उल्लेख गर्दै हाम्रा मौलिक संस्कार र संस्कृतिहरू नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेकोमा जोड दिए । “हामी ५ हजार वर्ष पुरानो सभ्यता र संस्कृतिको विरासत बोकेका छौँ। तर हाम्रा संस्कृतिहरू नयाँ पुस्तामा सही रूपमा हस्तान्तरण हुन सकेनन् भने भोलि ठूलो प्रश्नचिह्न खडा हुन सक्छ,“ उनले भने ।
सम्बोधनका क्रममा लियोनार्डो दा भिन्चीले मोनालिसाको चित्र बनाउँदा देखाएको धैर्यता र अनुशासनको दृष्टान्त दिँदै श्रेष्ठले विद्यार्थीहरूलाई पनि जीवनमा धैर्यता, अनुशासन र सपना पूरा गर्ने दृढ संकल्प राख्न आग्रह गरे ।
घरमा सामान्य काम गर्न अप्ठ्यारो मान्ने उमेरका विद्यार्थीहरूले आफैं स्टलमा परिकारहरू बनाएर बिक्री गर्दा उनीहरूमा उत्साह र प्रेरणा थपिएको उनको भनाइ थियो। देशको उज्ज्वल भविष्य नयाँ पुस्ताकै काँधमा रहेको बताउँदै उनले कार्निभलको पूर्ण सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा अभिभावक, शिक्षक, बुद्धिजीवी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य
शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले कुमुदिनी होम्स माध्यमिक विद्यालयमा आयोजित दोस्रो कार्निभल (फेस्टिवल) को सफलताको शुभकामना व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास र आत्मनिर्भरता बढाउने बताए ।
कार्यक्रममा विशेष अतिथिको रूपमा मन्तव्य राख्दै प्रमुख आचार्यले कार्निभल जस्ता रचनात्मक कार्यक्रमले विद्यार्थीहरूलाई आफ्ना कला, प्रतिभा र सिर्जनाहरू प्रस्तुत गर्ने प्रभावकारी मञ्च (प्लेटफर्म) प्रदान गर्ने उल्लेख गरे ।
विद्यार्थीहरू आफैंले स्टल राखेर विभिन्न खानाका परिकार तथा सिर्जनात्मक वस्तुहरू पस्कनु अत्यन्तै प्रशंसनीय रहेको उनको भनाइ थियो।
उनले अभिभावक, विद्यार्थी र विद्यालय परिवारको संयुक्त सहकार्य र समन्वयमा यस्ता महोत्सवहरू पूर्ण रूपमा सफल हुने विश्वास व्यक्त गरे । यस्ता व्यवहारिक अभ्यासले विद्यार्थीहरूमा ‘हामी केही गर्न सक्छौँ’ भन्ने भावनाको विकास गराउनुका साथै आपसमा सद्भाव, आत्मीयता, सदाचार र राम्रो संस्कारको विकास गर्न ठूलो सहयोग पुर्याउने उनले बताए ।
व्यावहारिक शिक्षा र आत्मनिर्भरतामा जोड दिने यस्ता कार्यक्रमहरूले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै प्रमुख आचार्यले कार्निभलको सफलताको शुभकामना व्यक्त गरे ।
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखे
कार्यक्रमका सभाध्यक्ष एवं विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले स्वागत मन्तव्य व्यक्त गर्दै कार्निभलको मुख्य उद्देश्य विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा दिँदै आत्मनिर्भर बनाउनु रहेको बताए । उनका अनुसार विद्यालयले गत वर्षदेखि कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी कार्निभलको आयोजना गर्दै आएको छ।
कार्निभलमा विद्यार्थीहरूले आफ्नो हस्तकला, खानाका परिकार तथा अन्य सिर्जनात्मक कला प्रस्तुत गरेका छन्। साना कक्षाका विद्यार्थीहरूले समेत आफैंले चटपटेको स्टल सञ्चालन गरेर उद्यमशीलताको अभ्यास गरेको अध्यक्ष पालिखेले जानकारी दिए ।
यस वर्षको कार्निभलमा कुल ५८ वटा स्टलहरू राखिएका थिए। कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन विदेशी कलाकारद्वारा स्टेजमा जादु (मैजिक) प्रदर्शनको समेत व्यवस्था गरिएको थियो।
सम्बोधनका क्रममा अध्यक्ष पालिखेले छोटो निमन्त्रणामा पनि उपस्थित भएर हौसला बढाएकोमा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सम्पूर्ण अतिथिहरूप्रति हार्दिक आभार व्यक्त गरे। साथै, विद्यार्थीहरूलाई सामग्री उपलब्ध गराई र उनीहरूका उत्पादन खरिद गरेर सहयोग पुर्याउने अभिभावकहरू तथा कार्यक्रम सफल पार्न खट्ने शिक्षक-शिक्षिकाहरूलाई पनि उनले धन्यवाद दिए ।
उनले विद्यालयले पढाइसँगै विद्यार्थीहरूको अतिरिक्त क्रियाकलाप र आत्मनिर्भरता विकासका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई अझ व्यवस्थित रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, शिक्षा समन्वय कार्यालयका प्रमुख लोकनाथ आचार्य, सामाजिक विकास मन्त्रालयका उपसचिव तथा शाखा अधिकृतहरूलगायत अभिभावक र विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा रसियन जादुगर ज्याक एमाजोनले जादु देखाएका थिए भने विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । साथै विद्यार्थीले कराँतेको काता प्रदर्शन गरेको थिए । स्थानीय इटरनिटी ब्याण्डको बेजोड लाइभ म्युजिक कन्सर्ट रहेको थियो । कार्यक्रम शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेका थिए ।
