
पोखरा। विश्व फार्मासिस्ट दिवसको अवसर पारेर पोखरामा अस्पताल फार्मासिस्टको भूमिका, अनुभव, चुनौती तथा आपत्कालीन एवं विपद् व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
‘स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाऊँ’ भन्ने मूल नाराका साथ नेपाल फार्मास्युटिकल एसोसिएसन (एनपिए) गण्डकी प्रदेशले उक्त कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा सहभागी विभिन्न अस्पतालका फार्मेसी इन्चार्जहरूले बाढी-पहिरो लगायत विपद्का समयमा औषधि व्यवस्थापन, आकस्मिक औषधिको मौज्दात, जनशक्ति तथा तालिम, आपूर्ति व्यवस्थापन र अस्पताल फार्मेसीका चुनौती तथा अनुभवहरू प्रस्तुत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका निमित्त डिन डा. गुलाम महोबत खानले फार्मेसी शिक्षालाई व्यवहारमुखी बनाउँदै आपत्कालीन तथा विपद् व्यवस्थापनसम्बन्धी अभ्यासलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले एनपिए गण्डकीले अस्पताल फार्मासिस्टहरूलाई एकै ठाउँमा ल्याई अनुभव आदानप्रदान तथा अन्तरक्रियाका लागि गरेको पहलको प्रशंसा गरे।
त्यस्तै, कार्यक्रमका विशेष अतिथि गण्डकी विश्वविद्यालयका रजिस्ट्रार डा. ढाकाराम भण्डारीले आपत्कालीन तथा विपद् व्यवस्थापनका लागि फार्मेसी शिक्षामा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्यास र प्रत्यक्ष अनुभवसमेत समेटिएको पाठ्यक्रम आवश्यक रहेको औँल्याए।
विपद्का समयमा औषधि व्यवस्थापन, आपूर्ति तथा स्वास्थ्य सेवामा फार्मासिस्टको भूमिका प्रभावकारी बनाउन शैक्षिक तहदेखि नै तयारी गर्नुपर्नेमा उनले जोड दिए।
निभिक्स फार्मास्युटिकलका प्रबन्ध निर्देशक इन्द्र बानियाँले आपत्कालीन अवस्थामा औषधि तथा स्वास्थ्य सामग्रीको निरन्तर आपूर्ति सुनिश्चित गर्न औषधि उद्योगको महत्त्वपूर्ण भूमिका रहने बताए।
आगामी दिनमा विपद्का बेला औषधि उत्पादन, आपूर्ति तथा आवश्यक सामग्री व्यवस्थापनमा उद्योग क्षेत्रले योगदान पुर्याउने प्रतिवद्धता उनले व्यक्त गरे।
एनपिए गण्डकी प्रदेशका अध्यक्ष प्रकाश पौडेलले अस्पतालमा कार्यरत फार्मासिस्टहरूसँग सहकार्य गर्दै तालिम, कार्यशाला तथा क्षमता अभिवृद्धिका कार्यक्रममार्फत फार्मास्युटिकल सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
उनले विभिन्न अस्पतालमा कार्यरत फार्मासिस्टहरूबीच अनुभव आदानप्रदानका लागि बलियो सञ्जाल निर्माण गर्नुपर्नेमा जोड दिँदै पेसागत सशक्तीकरणका लागि एनपिए गण्डकी सधैँ सहकार्य गर्न तयार रहेको बताए।
एनपिए गण्डकीका उपाध्यक्ष नवराज बास्तोलाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य अमृता अधिकारीले गरेकी थिइन्।
