
पोखरा। नेपालीहरूको महान् पर्व दशैँलाई पर्यटनसँग जोड्दै आयोजना गर्न लागिएको ‘दशैँ पर्यटन तथा सांस्कृतिक महोत्सव-२०८३’ लाई सफल बनाउन पोखराका पर्यटनसम्बद्ध संघ-संस्थाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा आगामी कार्तिक ८ गते (कोजाग्रत पूर्णिमाका दिन) पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा महोत्सव आयोजना हुन लागेको हो। ‘टीका, जमरा र चङ्गा चेट-पोखरामा पर्यटकसँग दशैँ भेट’ भन्ने मूल नाराका साथ हुने उक्त महोत्सवका विषयमा मङ्गलवार आयोजित छलफल कार्यक्रममा व्यवसायीहरूले यसलाई एउटा संस्थाको मात्र नभई समग्र पोखराको पर्यटन क्षेत्रको साझा कार्यक्रमका रूपमा सफल बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम संयोजक उमा भण्डारीका अनुसार महोत्सवमा पर्यटकलाई टीका तथा जमरा लगाइदिने, चङ्गा चेट प्रतियोगिता, विभिन्न जातजातिको मौलिक सांस्कृतिक प्रस्तुति, नेपाली खाना र कला-संस्कृतिको प्रदर्शन, परम्परागत सामग्रीका स्टल तथा स्थानीय उत्पादनका व्यावसायिक गतिविधिलाई समेटिनेछ।
छलफलमा पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दशैँलाई पर्यटनसँग जोडेर स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली संस्कृतिको प्रत्यक्ष अनुभव गराउन सकिने बताए। “यो कुनै एउटा संस्थाको मात्र नभएर सबैको साझा कार्यक्रम हो, यसको सफलताले समग्र पोखराको पर्यटन क्षेत्रलाई नै टेवा पुऱ्याउँछ,” भुजेलले भने।
ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुली र अध्यक्ष ममता न्यौपानेले पोखराको प्राकृतिक सुन्दरतासँगै यहाँको कला-संस्कृतिलाई पर्यटकीय उत्पादनका रूपमा अन्तर्राष्ट्रिय जगतसम्म पुऱ्याउन यो महोत्सवको परिकल्पना गरिएको बताए।
कार्यक्रम सञ्चालक एवं संस्थाकी उपाध्यक्ष लक्ष्मी लामिछानेका अनुसार सहभागी व्यवसायीहरूले दशैँको सांस्कृतिक पक्षलाई पर्यटनसँग जोड्दा पोखराको पर्यटनमा थप विविधता र नयाँ आकर्षण थपिने विश्वास व्यक्त गर्दै महोत्सवलाई सफल बनाउन रचनात्मक सुझावहरू दिएका थिए।
